Sunday 15th March 2026

रोजगारका लागि दुबई पुगेका युवा अलपत्र


तीतोपाटी- वैदेशिक रोजगारका लागि दुबई पुगेका१२ जना युवाहरू मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका छन्।नेपालगन्ज उपमहानगरपालिका–२२ फुलटेक्राका चन्द्रप्रकाश रोका, बर्दिया भुरिगाउँका देवराज घर्तीमगर, सर्लाही हरिवन नगरपालिका–५ का मिलन लामा, उदयपुर रौतामाई गाउँपालिका–६ का राजेन्द्र मगर, चितवन भरतपुरका लुकमान थापा, ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान मोक्तान लगायतका नेपाली युवा दुबईको ‘कर्मास’ भन्ने ठाउँमा अलपत्र परेका हुन्।

उनीहरू काठमाडौंको बसुन्धरास्थित अग्रिम ओभरसिज प्रा.लि. नामक मेनपावर कम्पनीमार्फत प्रतिब्यक्ति २ लाख १५ हजार बुझाएर यही चैत ६ गते (मार्च २० तारेख) दुबई उडेका थिए। मेनपावर कम्पनीले भनेअनुसारको काम र तलब नपाएपछि आफुहरू अलपत्र परेको सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका उनीहरूले नागरिकसँग दुखेसो पोखे।

उनीहरूले आफूहरूको बसाई निकै कष्टपूर्ण रहेको भन्दै चाँडो स्वदेश फिर्ता गराउनुपर्ने माग गरेका छन्। अलपत्र परेका युवाको भनाइअनुसार अग्रिम ओभरसिजले दुबई उडाउनुभन्दा पहिले होटलमा वेटर पदका लागि खाना र बस्ने सुविधासहित मासिक २२ सयदेखि २५ सय दिराम तलब हुने बताएका थिए।

तर, दुबई पुगिसकेपछि कम्पनीका प्रतिनिधि रन्जित यादवले छुट्टै काम देखाएर तलब सुविधा मासिक १ हजार दिराम मात्र रहेको बताएपछि आफूहरू छाँगाबाट खसेझै भएको चन्द्रप्रकाशले बताए। आफूहरू १ हजार तलबमा काम गर्न नसक्ने भनी कोठाभित्रै बस्न बाध्य भएको उनले सुनाए ।

कम्पनीका प्रतिनिधि यादवले एक हजार तलबमै काम गर्न आफूहरूलाई पटक–पटक मानसिक रूपमा दबाब दिइरहेको र काम नगरे चाँडो कोठा छाड्न चेतावनी दिइरहेको बताए।

‘त्यहाँ पुग्ने बित्तिकै खाना र बस्ने व्यवस्था मिलाउँछु भनेर हाम्रो पासपोर्ट र गोजीमा भएको पैसा पनि उसले थुतेर लग्यो, १२ जनालाई झ्याल र पङ्खा नभएको कोठाभित्रै कोचेर राखेको छ’, चन्द्रप्रकाशले भने, ‘हामी यहाँबाट छिटो घर फर्कँन चाहन्छौं, कागज पत्र नभएका कारण हामीमा बाहिर निस्कन पनि सकेका छैनौं।’

उक्त म्यानपावरमार्फत दुबई पुगेका १२ मध्ये पाँच जना युवा नेपाल फर्कने योजनामा छन् भने ईन्द्रावती गाउँपालिका–१ सिन्धुपाल्चोकका जगत थापा, मकवानपुर–७, गोर्खाका दिलमान मोक्तानसहित ७ जना युवाहरू मासिक एक हजार तलबमै काम गर्ने मनस्थितिमा पुगेका छन्। ‘घरबाट ऋण सापट्टी गरेर दुबई आएका छौं, ऋण तिर्नकै लागि भए पनि मासिक एक हजार तलबमा काम गर्ने अवस्थामा पुग्यौं’ जगतले भने।

साभार नागरिक न्युज


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...