Saturday 8th November 2025

११ वर्षसम्म बाख्रा फार्ममा बन्धक


तीतोपाटी- कुवेत जान हिँडेका रुपन्देहीका सत्यनारायणलाई दलालले साउदीको अलगाइद पुर्‍याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवासी समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् ।

काठमाडौँ — अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’

उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरू बाहिर आइरहेका छन् । खै हाम्रा मान्छेनिस्किएका छैनन् ।’

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए । त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भलवाडी, रूपन्देहीबाट रातारात आइपुगेकी थिइन् ।

एक घण्टा कुर्दा पनि सत्यनारायण बाहिर निस्किएनन् । खबर साँचो थियो कि झूटो ? उनमा बेचैनी बढदै थियो । आए–नआएबारे बुझ्न प्रहरीको सहयोग लिइन् । दुबईबाट आउने विमानमा रहेका यात्रुको सूचीमा सत्यनारायणको नाम देखेपछि ढुक्क भइन् ।

साढे चार बजेतिर आगमन कक्षबाट मैलो लुगा लगाएका सत्यनारायण निस्किए । ताराले परैबाट चिनिहालिन् । घरबाट बिदाइ गर्ने बेलाजस्तो शरीर थिएन । कपाल आधा फुलिसकेछ । अनुहार ख्याउटे भएछ । ११ वर्षपछि परिवारलाई भेटदा दुवैका आँखा रसाए ।

सत्यनारायणले आफूलाई सम्हाल्नै सकेनन् । निकै बेरसम्म रोइरहे । केही बोल्न सकिरहेका थिएनन् । नजिकै रहेका जेठा छोरालाई चिन्न सकेनन् । ताराले चिनाइदिइन् । उनी साउदी जाने बेला जेठा छोरा ८ वर्षका थिए । आफ्नै अगाडि उभिइरहेका १९ वर्षे लक्का जवानलाई चिन्न नसक्नु तारालाई स्वाभाविकै लाग्यो ।

‘जे भयो, अब तनाव नलिनुस्,’ ताराले पतिलाई सम्झाउँदै भनिन्, ‘तपाईं फर्केर आउनुभयो । हातखुट्टा केही भएको छैन । हाम्रा लागि योसबभन्दा ठूलो खुसी हो ।’

भलवाडीका ५० वर्षीय चौधरी कुवेत हिँडेका थिए । एजेन्टले भारतको मुम्बईबाट साउदी पठाइदियो । उनी साउदीको हाइल सहरदेखि झन्डै ४० किलोमिटर टाढा अलगाइदस्थित साउदी नागरिक निताफ दवीको घरेलु कामदार थिए । निताफको ५० बिघाको जमिनमा तरकारी र भेडाबाख्रा फार्म थियो । फार्ममा १ सय ५०वटा त बाख्रामात्रै थिए ।

‘उसले सधैं डरैडर देखाएर राख्यो । भोलि, पर्सि भन्दै नेपाल पठाउँदै पठाएन,’ सत्यनारायणले भने, ‘सुरुमा म जाँदा ७ कामदार थिए । नेपाली ममात्रै थिएँ । उनीहरू कोही भागेर अन्यत्र काम गर्न गए । कोही बिदामा गएपछि फर्केनन् ।’ निताफले कामदार भागेपछि र बिदामा पठाएको पनि नफर्केपछि सोझो सत्यनारायणलाई घर पठाइदिएनन् । उनी पनि एकपटक भागेका थिए । श्रम अदालत पनि पुगे । ‘उसका छोरा र भाइ प्रहरी हुन्, म भागेर गए पनि खोजेर फिर्ता ल्याए, श्रम अदालतमा चाहिँ अर्को महिना पठाइदिन्छु भनेका थिए,’ उनले भने, ‘तर घर फिर्ने दिन जुर्दै जुरेन ।’

साहुले तलब भने नियमित रूपमा तारालाई पठाइदिन्थे । सुरुको दुई वर्ष चार सय रियाल तलब थियो । त्यसपछि क्रमशः पाँच सय, ६ सय हुँदै ७ सय पुग्यो । पछिल्लो समय ९ सय रियाल दिएको थियो । सत्यनारायणसँग ताराको नियमित कुरा हुँदैनथ्यो । कहिलेकाहीँ साहुसँग पनि ताराको कुरा हुन्थ्यो । उनी सधैं श्रीमानलाई पठाइदिन अनुनयविनय गर्थिन् । उनको अनुरोधले निताफलाई छुदैनथ्यो । कति ‘गिर गिर’ (कचकच) गरेको भनेर उल्टो तारासँग रिसाउँथे ।

‘तिमीहरूलाई पैसा चाहिएको हो । मैले हरेक महिना पठाइदिएको छु, धेरै किचकिच नगर,’ तारालाई साहुको जवाफ एउटै हुन्थ्यो, ‘तिम्रो श्रीमान्लाई यहाँ तनाव छैन । बस्न पाएकै छ । खान पाएकै छ । किन चिन्ता लिनु ? म पैसा पठाइदिन्छु, ऊ यतै काम गर्छ । तिमीहरू ढुक्कले बस ।’

तारासँग अरू उपाय थिएन । बन्दी झैं काम गरिरहेका सत्यनारायणसँग झन् के विकल्प होस् ? उनलाई त्यो मजराबाट बाहिर जान रोक थियो । बाहिरी मानिससँग बोल्न पाउँदैनथे । उनले भनेको नमान्दा पिटाइ खानुपर्थ्यो । ‘जेल पठाइदिने डर हुन्थ्यो, कहिले अरूलाई भेट्ने र आफ्नो कुरा राख्ने काम गरिनँ,’ सत्यनारायणले भने । उनको नजिकै एक पाकिस्तानी काम गर्थे ।

उनले सत्यनारायणमाथि भइरहेको यातनाबारे विष्णु खड्कालाई जानकारी दिए । खड्का नेपाली प्रवासी समाज हायल क्षेत्रका पूर्वउपाध्यक्ष थिए । हायल क्षेत्रमा रहेका नेपालीलाई संगठित गर्ने र समस्यामा परेकाको उद्धारका लागि नेपाली दूतावाससँग समन्वय गर्ने काम गर्दै आएका थिए ।

साहु नभएको मौका पारी पाकिस्तानीको सहयोगमा सत्यनारायणले खड्कासँग भेटेर यथार्थ सुनाए ।खड्काले आफ्ना अध्यक्ष होमराज बास्तोलालाई उनीबारे जानकारी दिए । होमराज दूतावासको सहयोगीका रूपमा त्यस क्षेत्रमा नेपालीको हितमा काम गर्थे । उनले साहुलाई भेटेर कुरा गर्न खोजे तर साहुले भेट्न चाहेनन् ।

रियादबाट झन्डै ८ सय किमि पर चौधरीको अवस्था बुझ्न नेपाली दूतावासका उपप्रमुख आनन्दराज शर्मा र जेद्दास्थित नेपाली महावाणिज्य दूत रेवती पौडेल ९ महिनाअघि पुगे । चौधरीलाई भेटेर उनीहरू साहु निताफको घरमै पुगे । ‘१५ दिनभित्र नेपाल पठाइदिन्छु,’ उनले दूतावाससँग समय माग्यो । सबै हिसाबकिताब गरेर पैसा दिई स्वदेश पठाउन भन्दै उनीहरू फर्किए । साहुले पठाइदिएन । टाढा भएकाले दूतावासका अधिकारीहरू घरीघरी चौधरीको कार्यस्थल पुग्न गाह्रो थियो । दूतावासको यत्रो पहलपछि पनि नपठाउँदा सत्यनारायणलाई लाग्न थाल्यो– अब यो जुनीमा देश फिरेर आफ्ना परिवारसँग भेट्न पाउनेछैन ।

उनी बिहान ६ देखि राति ९ बजेसम्म काम गर्थे । बाख्राको रेखदेख र सरसफाइमै दिन बित्थ्यो । उनले पहिलेजस्तो मिहिनेत नगरेको भन्दै साहुले झर्कीफर्की गर्थे । नेपाली प्रवासी समाज र दूतावासले भने चौधरीको साहुलाई पछ्याउन छाडेका थिएनन् । फागुन ८ गते दूतावासका द्वितीय सचिव भरत खनाल भाषा अनुवादक निजामुद्दिनलाई लिएर निताफको मजरा पुगे । संयोगले उनी त्यहीं भेटिए । ‘तिमीले चौधरीलाई नेपाल नपठाएसम्म हामी रियाद फर्किनेवाला छैनौं,’ खनालले चेतवानी दिए, ‘अब फर्काउन आलटाल गरे प्रहरी बोलाउँछु ।’

दूतावासको चेतावनीपछि बल्ल साहु गले । उनले हतारहतार कसैलाई जानकारी नदिई अघिल्लो बिहीबार राति नै सत्यनारायणलाई नेपाल पठाइदिए । काम गर्दा जुन कपडा लगाइरहेका थिए, त्यही लगाएर स्वदेश फर्किए । ‘त्यत्रो वर्ष काम गरेको केही पुरस्कार

(उपदान रकम) दिएन, मैले सकेसम्मको सेवा गरें, कम्तीमा ५ हजार रियाल त दिनुपर्ने हो, बाटो खर्च भन्दै ६५ रियाल दियो,’ सत्यनारायणले दुःखमनाउ गरे, ‘मलाईरित्तै घर पठाइदियो ।’

उनी अहिले आफ्नो गाउँ भलाडी पुगेका छन् । ‘भलाडी मैले छाडेको जस्तो छैन, सहर भइसकेछ,’ उनले भने, ‘छिमेकी पनि सबै नयाँ आइसकेछन्, कोही पनि चिन्न सकिनँ । म घरबाट बाहिर निस्किएको छैन ।’ ताराले पनि उनलाई एकपल छाडेकी छैनन् । ‘मेरो आशा मरिसकेको थियो । एक्कासि श्रीमान् घर आइपुग्दा हामी निकै रमाएका छौं । हामीलाई केही चाहिएको छैन,’ उनले भनिन् ।

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

प्रतिकृयाहरू
...