Tuesday 20th January 2026

मलेसियाका नयाँ राजा सुल्तानद्वारा राज्यारोहण


तीतोपाटी-मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गरेका हुन् ।

खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानीरङको औपचारिक पोशाक लगाएका थिए ।  क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गरेका थिए ।

समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौं अतिथिहरु, मुस्लिम धर्मगुरुहरु लगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसदमा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो ।  मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६ औं राजा भएका थिए ।

यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो ।  मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुन् ।

उनले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उनले राजीनामा दिएको बताइएको छ ।  राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औं राजा सुल्तानले केही सातादेखि विदा लिएका थिए । उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए ।

राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्हेका थिए । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित भएका थिए ।

नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुन् । उनी आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि रहेका थिए । साथै उनले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्हेका छन् ।

उनीसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेवारी सम्हाल्नु भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रुपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्खयक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।

अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानि हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।

मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणाली मार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।

प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा हुनु भएको हो । –एएफपी


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...