Monday 19th January 2026

संसदीय समितिका गुनासा : कम्युटर नपाएकोदेखि थोत्रा गाडीसम्म


तीतोपाटी-संसदीय समितिका सभापतिहरुले बैठक चलाउन गाह्रो भएको गुनासो गरेका छन् ।

सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित विषयगत समितिहरुका सभापतिको आइतबारको संयुक्त बैठकमा कार्यालय ब्यवस्थापनदेखि संसदका कर्मचारीहरुको असहयोग आन्दोलनसम्मका विषय उठाए ।

‘सभापतिहरुले कार्यालयको उचित व्यवस्था नहुँदा परेको समस्या, पुर्वाधारको अभाव, संसद सचिवालयमा कार्यरत कर्मचारीहरुको असहयोग आन्दोलन जस्ता विषयलाई प्राथमिकताका साथ उठाउनुभएको छ’, बैठकमा सहभागी एक सभापतिले भनिन् ‘सबैका गुनासै गुनासा छन् ।’

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले कम्युटर, प्रिन्टरजस्ता कार्यालय व्यवस्थापन सम्बन्धी सामग्री नपाएको, आवश्यक पूर्वाधारको समेत अभावमा समितिका गतिविधि रेकर्डिङ गर्न नसकिएको लगायतका विषय उठेको बताए ।

उनका अनुसार सभापतिहरुले संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका कारण परेको समस्या पनि प्रमुखताका साथ उठाए ।

‘कर्मचारीहरुको १०–४ ड्युटीका कारण समितिका बैठक चलाउन गाह्रो भएको विषयलाई पनि उहाँहरुले उठाउनुभएको छ’, पाण्डेले अनलाइनखबरसँग भने, ‘अतिरिक्त काम गरेबापत्त थप सुविधा पाउनुपर्ने कर्मचारीहरुको मागबारे छिटै पहल हुनुपर्यो भनेर उहाँहरुले कुरा राख्नुभयो ।’

संसद सचिवालयका कर्मचारीहरुले पाउँदै आएको ८० प्रतिशतसम्म भत्ता गत साउनबाट हटेको छ । त्यसको विरोधमा कर्मचारीहरुले गत १ पुसबाट आन्दोलन गर्दै आएका छन् ।

सभामुखको अध्यक्षतामा हुने संसद कार्यसञ्चालन ब्यवस्थापन समितिले ५० प्रतिशतसम्म भत्ता दिने प्रताव २ पटक अर्थमन्त्रालयमा पठाइसकेको छ । तर, अर्थले स्वीकृति नदिँदा संसदका कर्मचारीको अतिरिक्त काम गरेबापत्तको सेवा सुविधा थप के हुने भन्ने निर्णय भएको छैन ।

कर्मचारीहरु १०–४ को मात्रै ड्युटी गर्ने र दिउँसो १ देखि २ बजेसम्म पनि खाजाको समय भन्दै काम नगर्ने रणनीतिमा छन् ।

कर्मचारीको यस्तो असहयोग आन्दोलनले गर्दा समितिका बैठक राख्न नै समस्या भइरहेको समिति सभापतिहरुको गुनासो छ ।

केही सभापतिहरुले आफूलाई थोत्रा गाडी दिएको गुनासो पनि गरेका छन् । ‘थोत्रा गाडी बाटैमा बिग्रेर हैरान भएको गुनासाहरु पनि आए’ बैठकमा सहभागी एक समितिका सभापतिले भनिन् ।

गत मंसिर ७ गते बसेको सभामुख, राष्ट्रियसभाका अध्यक्ष र सभापतिहरुको संयुक्त बैठकले प्रत्येक महिनाको पहिलो हप्ता यस्तै बैठक बस्ने तय गरेको थियो । तर, दुई महिनापछि मात्रै यो बैठक बसेको हो ।

सभामुखको आग्रह– प्रभावकारी काम गर्नुस्

सभामुख कृष्णबहादुर महराले भने प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुलाई प्रभावकारी काम गर्न आग्रह गरेका छन् । ‘यी समितिहरु मिनी पार्लियमेन्ट हुन्, सक्रिय बनाउनुस्’, उनले भने, ‘सुविधाको आवश्यक ब्यवस्थापन हुन्छ ।’

सभामुख महराले समितिहरुमा विषय बाझिन सक्ने भएकाले निर्णय गर्दा संयुक्त निर्देशन दिने ब्यवस्थाका लागिसमेत आग्रह गरेका छन् । छलफल अलग अलग भए पनि निर्देशन संयुक्त रुपमा दिनुपर्ने उनले बताए ।

साभार-अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...