Thursday 19th March 2026

मालपोतकै कर्मचारीको कुकृत्यको कारण सरकारी पर्ती जग्गा व्यक्तिको नाममा दर्ता


तितोपाटी – मालपोत कार्यालयको दर्ता पुस्तिका (ढड्डा) मै किर्ते (केरमेट) गरी सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । साबिकको अर्खौलेजितपुर गाविस र हालको महालक्ष्मी नगरपालिकाको नामको १९ रोपनीभन्दा बढी महत्त्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो ।

महालक्ष्मी नगरपालिका ७ मा रहेको १९ रोपनी १० आना स्थानीय गोकर्ण तुम्बाको नाममा दर्ता भएको हो । तिरो तिर्न नगरपालिकामा पुगेका बेला नगरकै कित्ताको जग्गा रहेको रहस्य खुलेको छ । महालक्ष्मी नगरपालिकाको सदरमुकामअर्खौलेजितपुरको मुख्य चोक नजिकको जग्गा २०६८ चैत ३० गते तुम्बाको नाममा दर्ता गरिएको नगरपालिकाका शाखा अधिकृत सन्तोष दर्जीले बताए ।

कित्ता नम्बर ११ लाई मालपोत कार्यालयको ढड्डामा भने ११० बनाइएको छ । तत्कालीन मालपोत प्रमुख सुरेश थपलिया र फाँटवाला कर्मचारीको मिलेमतोमा यस्तो गरिएको स्रोतको दाबी छ । ११ अंकको पछाडि शून्य थपेर व्यक्तिको नाममा जग्गा दर्ता गरिएको छ । २०५१ असार १७ गते तत्कालीन श्री ५ को सरकारको नाममा दर्ता भएको मालपोतको दर्ता पुस्तिकामा उल्लेख छ । सरकारको नाममा दर्ता भएको जग्गा पुन: दुई दशकपछि किर्ते शैलीमा व्यक्तिमा नामसारी भएकाले अचम्मित बनेको नगरप्रमुख पर्शुराम नेपाल बताउँछन् । ‘सरकारी जग्गालाई व्यक्तिकोमा जान हामी दिंदैनौं,’ उनले भने, ‘सम्बन्धित निकायमा छानबिन र कानुनी उपचारको बाटोमाजुटिसकेका छौं ।’

नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा व्यक्तिका नाममा दर्ता गरिएको प्रक्रियाबारे अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले बताए । नगरपालिकाले पठाएको पत्रका आधारमा अख्तियारले मालपोत कार्यालयलाई दर्ता प्रक्रियाबारे जानकारी मागेको छ । अख्तियारले दर्ताबारे छानबिन गरी रायसहितको प्रतिक्रिया पठाउन मालपोत कार्यालयलाई पत्राचार गरेको मालपोत कार्यालय धनकुटाका निमिक्त प्रमुख तिलक खत्रीले जानकारी दिए । अख्तियारले व्यक्तिका नाममा दर्ता गर्ने समयमा रहेका प्रमुख, सहायक, तामेली र मुद्दा फाँटमा कार्यरत कर्मचारीको विवरण माग गरेको छ ।

दर्ता गर्न मिल्ने वा नमिल्ने कानुनी आधार, उक्त जग्गा साबिकमा सरकारी सार्वजनिक वा नीजि कुन प्रकृतिको रहेको तथा कुन प्रक्रियाबाट दर्ता भएको लगायतका जिज्ञासा राख्दै मालपोतलाई पत्राचार गरेको छ । मालपोत कार्यालयले अख्तियारको सवालअनुसारको जवाफ पठाइसकेको कार्यालय प्रमुख खत्रीले बताए । उता जग्गा दर्ता गरिएका व्यक्ति गोकर्ण तुम्बाले पुख्र्यौली भोगचलन गरेको आधारमा आफ्नो नाममा दर्ता भएको दाबी गरे ।

उनले तत्कालीन मालपोत प्रमुखले व्यक्तिको नाममा दर्ता गर्न मिल्ने भनेकाले आफ्नो नाममा आएको बताए । मालपोत कार्यालयको दर्ता पुस्तिकामा केरमेट गरी आफ्नो नाममा दर्ता भएको थाहा नभएको उनी बताउँछन् । मालपोतका तत्कालीन प्रमुखलगायतले अर्को बदनियतपूर्ण कार्यसमेत गरेका छन् । जसमा सरकारको नामको पर्ती जग्गालाई आवादी कायम गर्दै व्यक्तिको नाममा नामसारी गरिएको जनाइएको छ ।

बजारको अग्लो स्थानमा दृश्यावलोकनका लागि समेत उपयुक्त उक्त जग्गामा नगरपालिकाले भ्यु टावर तथा पार्क निर्माणको योजना बनाइरहेको बखत व्यक्तिमा दर्ता भएपछि योजनासमेत प्रभावित बनेको नगरप्रमुख नेपालले बताए ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...