तितोपाटी – पुसका कठ्याङ्ग्रीदो चिसो चौरमा प्लाष्टिकको बोरा ओछ्याएर बसेका छन्, बालबालीका । शिक्षकका लागि प्लष्टिक कुर्सीको बन्दोबस्त देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिका- २, लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो, यो ।
२०१९ सालमा स्थापित यो विद्यालयको ४ कोठे जीर्ण भवन छ, तर डेस्क-बेन्च छैन । पढाईका लागि कहिलेकाँही एउटा कोठा प्रयोग गर्ने गरिएको छ । बाल विकास सहित ५ वटा कक्षा सञ्चालन हुनुपर्ने विद्यालयको यो हविगत छ । हल्का पानी पर्दा पनि चुहिने छानो छ ।
दुई शिक्षक, बाल विकासका १ शिक्षिका, १ कार्यालय सहयोगी गरी चार जना कार्यरत विद्यालयमा अफिस पनि छैन । विद्यालयको कागजपत्र घरमा लगेर राखेको शिक्षकहरु बताउँछन् ।
कक्षा ५ की पुनम कुमारीले जाडो याममा भूँइमा प्लाष्टिकका बोरा ओछ्याएर पढ्दा ज्यादै गाह्रो हुने बताइन् । उनकै कक्षाकी पिंकी कुमारीले बेन्चमा बसेर पढ्ने धोको बताइन् । तर, डेस्क-बेन्च भएको स्कुलमा बढ्न त गाउँबाट २ किलोमिटर टाढा जानुपर्ने उनीहरुले बताए ।
प्रधानाध्यापक उन्नतीलाल प्रसाद पटेलले २०७१ सालमा यहाँ आएदेखि नै भवन निर्माणका लागि सरोकारवालाहरुको ढोका ढकढकाएको तर असफल भएको बताए ।
बुझ्दै जाँदा विद्यालय भवन निर्माणका लागि सहयोग नै नभएको भने होईन रहेछ । भवनका लागि २०६६/०६७ मै जिल्ला शिक्षा कार्यालयले ५ लाख ५० हजार रुपैयाँ छुट्एको रहेछ । त्यसबाट निर्माण समितिका अध्यक्ष किसुन महराले विभिन्न कामका लागि भन्दै ७५ हजार र जिल्ला शिक्षा कार्यालयका तत्कालिन सब-ओभर सियर रविन्द्र कुमार मण्डलले ट्रस खरिद गरिदिने भन्दै २ लाख ७५ हजार लिएका रहेछन् । बाँकी २ लाख नेपाल क्रेडिट एण्ड कमर्श बैंक, वीरगञ्जमा राखिएको रहेछ ।
पुरानो हिसाब फर्छ्यौट नभएकाले जिशिकाले सहयोग नगरेको प्रअ पटेलले बताए । ‘न मण्डलले ट्रस ल्याएर दिन्छन्, न निर्माण समितिका अध्यक्षले ७५ हजारको हिसाब देखाउँछन्’, उनले भने, ‘पटक-पटक ताकेता गर्दा पनि भएन । जिशिका जाँदा साढे ५ लाख पछ्यौट भएसम्म न चर्पी दिन्छौं, न भवन भनेर पठाए ।’
गाउँपालिका अध्यक्ष जालिम मिया मन्सुरी विद्यालयको समस्याबारे बेखबर छैनन् । उनले २५ लाख बजेट विनियोजन गरेको र छिट्टै भवन निर्माणको काम शुरु हुने बताए । वरपर रहेको ऐलानी जग्गालाई विद्यालयको नाममा ल्याउने प्रक्रिया पनि अघि बढाएको दाबी उनले गरे ।
-अनलाइनखबरबाट