Monday 19th January 2026

वैदेशिक रोजगारीमा गएका करिब ३ सय महिला सम्पर्क विहीन


तीतोपाटी-वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ र बर्दियाका १०१ महिला  घरपरिवारबाट सम्पर्क विहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन्।

गएको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन दिएको संस्थाका संयोजक केशव कोइरालाले जानकारी दिए। आफन्तका अनुसार उनीहरू जोखिमपूर्ण यात्रामा भारत तथा खाडी मुलुकमा पुगेर हराएका छन् । माइती नेपाल नेपालगञ्ज कार्यालयको सन् २०१८ को तथ्याङ्कअनुसार, बाँकेको कोहलपुर नगरपालिकाका ६२ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४२, राप्तीसोनारी गाउँपालिकाका ३१, बैजनाथ गाउँपालिकाका ३३, खजुरा गाउँपालिकाका २०, जानकी गाउँपालिकाका चार र डुडुवा गाउँपालिकाका दुईजना घरपरिवारको सम्पर्कमा छैनन् ।

प्रायः पर्यटन भिसामा खाडी मुलुकमा जाने उनीहरू तीन महीनासम्म घरपरिवारसँग सम्पर्कमा रहे पनि त्यसपछि लुकेर काम गर्नुपर्ने बाध्यता रहेको कोइरालाले बताए। कतिपयलाई मालिकले जोखिमपूर्ण काममा लगाई घरपरिवारसँग सम्पर्क गर्न नदिने गरेको अवस्था छ । इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज प्रहरी नायव निरीक्षक शिवकुमार वलीले पठाउँदा लुकीछिपी दलालको विश्वासमा पठाउने र हराएपछि मात्र प्रहरी र सङ्घसंस्थाको सम्पर्कमा आउने हुनाले खोजतलासमा कठिनाइ हुनेगरेको बताए।

मानवबेचिबिखन विरुद्ध कार्यरत सङ्घसंस्थाहरूसँग समन्वय गरी मानव बेचबिखन विरुद्ध क्रियाशील रहेको उनको भनाइ छ । सन् २०१८ मा असुरक्षित यात्रामा रहेका ९२० जनालाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएको छ । अधिकारकर्मी कमला पन्तले सीमापार यौन शोषण तथा श्रम शोषण र अङ्ग बेचबिखनका लागि मानव बेचबिखन हुने गरेको पाइएको बताइन्।

बर्दियाबाट एकसय एक हराए

छिमेकी जिल्ला बर्दियाबाट सन् २०१८ मा १०१ महिला रोजगारीको सिलसिलामा गएर हराएको पाइएको छ । बढैयाताल गाउँपालिकाबाट ३२, बाँसगढी नगरपालिकाबाट २५, मधुवन नगरपालिकाबाट २२, बारबर्दिया नगरपालिकाबाट छ, राजापुर नगरपालिकाबाट तीन, ठाकुरबाबा नगरपालिकाबाट नौ र गेरुवा गाउँपालिकाबाट चार महिला बेपत्ता भएका छन्। उनीहरूको आफन्तले प्रहरी र मानव बेचबिखन विरुद्ध काम गर्ने सङ्घ संस्थामा खोजतलासका लागि निवेदन दिएका छन् ।

साभार नागरिकन्यूज़


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...