Saturday 1st August 2026

लिटल बुद्द रामबहादुर बम्जन माथि ३ जना युवती वेपत्ता पारेको गम्भिर आरोप


तितोपाटी – लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको उनको परिवारले बताएको छ । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाइ विजयको भनाइ छ । उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता भएका छन् । ‘हामीले दिदीको खोजी गरिरहेका छौं,’ रुम्बाले भने ।

उनका अनुसार २०७२ सालको भूकम्पपछि उनकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । उनले भने, ‘फागुनदेखि नै यहाँ छैन भनेर फर्काइदिए ।’
फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ ।

मकवानपुरको पदमपोखरी, वनस्पतिका महेन्द्र वाइबाले आफ्ना बुबा सञ्चलाल तपस्यास्थलबाट बेपत्ता भएको बताएका छन् । २०७० सालमा तपस्वी बम्जनसँग हिँडेका वाइबाको परिवारसंँग २०७१ चैत १५ गते फोन सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क छैन ।
सिन्धुपाल्चोकस्थित बम्जनको तपस्यास्थल पुगेर छोरा महेन्द्रले खोजतलास गर्दा फेला पार्न सकेका थिएनन् । सबैतिर खोज्दा फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको महेन्द्रले बताए । डीएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिरहेको बताए ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

अन्तरिक्षमा आफ्नो कार्यकाल पूरा गरिसकेको फाल्कन–९ (Falcon 9) रकेटको माथिल्लो भाग (Upper Stage) चाँडै चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। वैज्ञानिकहरूका…

कुवेत सरकारले शुक्रबार भएको शत्रुतापूर्ण ड्रोन आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र स्थायित्वमाथिको प्रत्यक्ष आक्रमण…

स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटा (Ceuta) मा हालै देखिएको ठूलो आप्रवासी लहरपछि २५ हजारभन्दा बढी आप्रवासीलाई मोरक्को फर्काइएको स्पेनको गृह…

प्रतिकृयाहरू
...