Thursday 8th October 2026

पर्सामा प्रेम प्रस्ताव अस्वीकार गरेको रीसमा १८ वर्षिय किशोरद्वारा १८ वर्षीया किशोरीमाथि छुरा प्रहार


तितोपाटी – पर्साको पर्सागढी नगरपालिका–१, पिप्रोधमा आफ्नो प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै एक किशोरले किशोरीलाई छुरा प्रहार गरेका छन्। पर्सागढी नगरपालिका–१, मनवाकी १८ वर्षीया शकुन्तला कुमारीलाई छिमेकी गाउँ भटेनीका १८ वर्षकै जयकिशोर चौधरीले सोमबार छुरा हानेका हुन्। छुराले शकुन्तलाको तिघ्रामा सात इन्च गहिरो घाउ भएकोे छ भने नाक र ओठमा पनि चोट लागेका छन्। वीरगन्जस्थित नेसनल मेडिकल कलेजको सघन कक्षमा उनको उपचार भइरहेको छ। धेरै रगत बगेका कारण शकुन्तालाको अवस्था गम्भीर रहेकाले रगत चढाएर बचाउने कोसिस भइरहेको चिकित्सकले बताएका छन्।

छुरा प्रहार गर्ने जयकिशोरलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय (पर्सा)को हिरासतमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राइले जानकारी दिए।

शकुन्तला पर्सागढी–२, बढ्निहारमा रहेको जनता उच्च मावि कक्षा ११ मा पढ्छिन्। स्थानीयका अनुसार विद्यालय जाँदै गर्दा सोमबार बिहान साढे ७ बजेतिर जयकिशोरले बाटो छेकेर शकुन्तलालाई छुरा प्रहार गरेका थिए।
स्थानीयका अनुसार कक्षा ८ पढ्दा नै उनले शकुन्तलालाई प्रेम प्रस्ताव राखेका थिए। कक्षा ८ बाटै पढाइ छाडेका जयकिशोरले शकुन्तलालाई भने पछ्याउँदै आएका थिए। छुरा प्रहार गर्ने उनलाई कडा कारबाही गर्न माग गर्दै स्थानीय महिलाले सोमबार मनवा प्रहरी चौकीअगाडि प्रदर्शन समेत गरेका छन्।


सम्बन्धित शीर्षकहरु

रुसले बुधबार राति युक्रेनको राजधानी किभसहित विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने…

यमनमा पछिल्ला केही सातादेखि द्वन्द्व तीव्र बनेपछि दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार…

हमासको ७ अक्टोबर २०२३ को आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको सैन्य अभियानको तीन वर्ष पूरा हुँदा गाजा पट्टी गम्भीर मानवीय…

प्रतिकृयाहरू
...