Wednesday 20th November 2024

सिन्धुपाल्चोकको सुनकोशी – ३ पुनर्निर्माण सम्पन्न गर्ने मुलुककै पहिलो वडा बन्यो


तितोपाटी – सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–३ पुनःनिर्माण सक्ने पहिलो वडा बनेको छ । एक गैरसरकारी संस्थाको सहयोगमा वडाबासी सबैले भूकम्प प्रतिरोधी घर निर्माण गरेसँगै सो वडा पुनःनिर्माण सक्ने पहिलो बनेको हो । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले नै निजी आवास पुनर्निर्माण सकेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सुनकोसी–३ साविकको कालिका गाविसलाई सतप्रतिशत निजी आवास पुनर्निर्माण सक्ने देशकै पहिलो वडा घोषणा गरिएको हो ।

कारितास नेपालको भूकम्प पुनःनिर्माण परियोजनाअन्तर्गत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको समन्वयमा यहाँका ६५३ घर निर्माण गरिएको हो । जसका लागि ५५ करोड २० लाख लगानी भएको छ । कारितास नेपालले सिन्धुपाल्चोकका विभिन्न वडामा ४ हजार ८ सय २५ घर निर्माणको जिम्मा लिएकामा ४ हजार ९ घर निर्माण सकेको छ । जसमध्ये सम्पूर्ण पुनर्निर्माण सकिएको सुनकोसी–३ पहिलो वडा हो ।

गैर–सरकारी संस्थाको सहयोग सही परिचालन, स्थानीय तहको समन्वय र टहरोको दैनिकीबाट वाक्कदिक्क भएका स्थानीयको सक्रियताका कारण यहाँ पुनर्निर्माणले गति लिएको हो । धेरै गैर–सरकारी संस्थाले पुनर्निर्माणमा आफ्नो स्वार्थ घुसाउँदा ‘बद्नाम’ भइरहेका बेला यहाँ भने समन्वयात्मक सहकार्यले सकारात्मक नतिजा दिएको छ ।

गैर–सरकारी संस्थाले घर बनाउने पैसासहित तालिम दिएपछि पुननिर्माणका सक्रिय भएका स्थानीयले करिब पाँच लाख खर्चिएर आवास निर्माण गरेका हुन् । प्राविधिकका अनुसार हेर्दा पनि चिटिक्क देखिने यस्ता भूकम्प प्रतिरोधी घर न्यूनतम् २२ दिनमै तयार हुन्छ । लामो समयसम्म टहरामा जीवन गुजारेको स्थानीय अहिले खुसी छन् ।

भूकम्पबाट धेरै क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार सिन्धुपाल्चोकका ८८ हजार लाभग्राही परिवारमध्ये ५५ हजार बढीले घर बनाइसकेका छन् ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतले आफ्नो पहिलो लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ, रक्षा मन्त्रालयले आइतवार घोषणा गर्‍यो, त्यस्ता हतियार कार्यक्रमहरूको…

इजरायलको सैन्य इतिहासमा पहिलो पटक, महिला लडाकु सिपाहीहरू परिचालन मिसनको भागको रूपमा लेबनानमा प्रवेश गरेका छन । उत्तरी कमाण्ड प्रमुख…

नारायण कोइराला - पाल्पा साहित्य समाजले ३०ओैं वार्षिक दिवस समारोह भव्यताका साथ मनाएको छ । पाल्पाली आदिकवि छविलाल नेपालको १७५…

प्रतिकृयाहरू
...