Sunday 16th August 2026

नेपालगञ्जमा बन्धक बनाएर फिराैती लिएको अारोपमा २ प्रहरी र १ युवती पक्राउ


तितोपाटी – अपहरण र बलात्कारको मुद्दामा फसाइदिने भन्दै एक व्यक्तिलाई बन्धक बनाएर रकम असुलेको अभियोगमा बाँकेमा दुई प्रहरी र एक युवती पक्राउ परेका छन्।
उनीहरुविरुद्ध नेपालगन्जको एकलैनी बस्ने अन्सारी थरका एक व्यक्तिलाई होटलमा बोलाई बन्धक बनाएर पाँच लाख रुपैयाँ फिरौती लिएको अभियोगमा जिल्ला अदालत बाँकेमा मुद्दा दायर भएको छ।

पक्राउ पर्नेमा संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दाङ नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की २६ वर्षीया श्रोती हमाल छन्।

अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद थपिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।

पीडित भनिएका अन्सारी र फिरौती रकमका लागि सहयोग गर्नेलाई बोलाएर सोधपुछ गर्ने काम भइरहेको प्रहरी निरीक्षक बिसीको भनाइ छ।

यस्तो थियो घटना
युवती हमालले अन्सारीलाई भदौ ५ गते नेपालगन्ज–२० राँझास्थित निशा होटलको कोठामा भेट्न बोलाएकी थिइन्। यसअघि नै हमालले अन्सारीलाई कोठामा बोलाएको जानकारी प्रहरी जवानद्वय आचार्य र बोहरालाई गराइसकेकी थिइन्।

बिहान करिब ११ बजे अन्सारी युवतीसँग कोठामै रहेका बेला प्रहरी जवानद्वय आचार्य र बोहरा जबरजस्ती कोठामा प्रवेश गर्छन्। उनीहरुले प्रहरी भएको भन्दै हमाललाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा अन्सारीलाई पक्राउ गरेर कारबाही चलाउने धम्की दिन्छन्।

अन्सारीले आफूले त्यस्तो केही गलत नगरेको र दुवैजना सहमतिमै होटलमा बसेको जवाफ दिएर उम्कने प्रयास गर्छन्।

तबसम्म उनले हमाल र प्रहरीकै मिलेमतोमा आफूलाई फसाउने प्रपञ्च रचिएको हेक्का पाएका हुँदैनन्। घटना सामसुम पार्न प्रहरीद्वयले अन्सारीसँग पाँच लाख रुपैयाँ डिमाण्ड गर्छन्।

हमालले पनि घटना सार्वजनिक भए सामाजिक प्रतिष्ठामा आँच आउने भन्दै अन्सारीलाई रकम दिन सुझाउँछिन्। अन्सारीले रकम कम गर्न बार्गेनिङ गर्छन्। तर प्रहरीद्वयले कुटपिट गरी उनलाई पाँच लाख रुपैयाँ तिर्न मञ्जुर बनाउँछन्।

अन्सारीले त्यतिधेरै रकम आफूसँगै राखेका हुँदैनन्। उनले साथिभाइसँग पैसा मगाउँछन् तर अँझै ५० हजार रुपैयाँ अपुग हुन्छ। अपुग पैसा (५० हजार रुपैयाँ) होटल निशाकी संचालक कृष्णा कुमारी घर्तीसँग अन्सारीले माग्छन्। आफ्नो होटलको पनि बदानमी हुने डरले घर्तीले पछि फिर्ता गर्ने शर्तमा अन्सारीलाई ५० हजार रुपैयाँ दिन्छिन्।

अनि पाँच लाख रुपैयाँ दिएपछि अन्सारीलाई कोठाबाट मुक्त गरिन्छ। अन्सारी त्यसदिनदेखि सम्पर्कमा छैनन्। अन्सारीलाई दिएको ५० हजार रुपैयाँ प्राप्त नभएपछि होटल संचालक घर्तीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दिन्छिन्।

घर्तीको जाहेरीपछि अनुसन्धान गर्दै जाँदा प्रहरी जवानद्वय आचार्य र बोहराले हमालसँग मिलेर अन्सारीलाई बन्धक बनाई रकम असुलेको निचोडमा प्रहरी पुग्छ। तबमात्र उनीहरु प्रहरीको फन्दामा पर्छन्। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाउँछ। (प्रहरी अधिकृतसँगको कुराकानीमा आधारित)

-अन्नपुर्ण पोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। दर्जनौं घाइते भएका छन्…

प्रतिकृयाहरू
...