Thursday 15th January 2026

अाज ऋषितर्पणी, रक्षाबन्धन तथा जनैपुर्णिमा मनाइंदै


तितोपाटी – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ।

जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ।

आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन्। सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ।

तराइमा आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई नाडीमा राखी बाँधीदिने चलन छ। नेवार समुदायले भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनेर मास, भटमास, मुङ, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुराँस र बोडी गरी नौ प्रकारका गेडागुडी मिसाई पकाइएको क्वाँटी खाएर मनाउने गर्दछन्।

यस दिन उपत्यकाका किसानले आ–आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर सिमीको पातमा क्वाँटी भात खुवाउने चलन रहेकाले यस पर्वलाई ‘ब्याँ जा नकेगु’ (भ्यागुतालाई भात खुवाउने) भन्ने पनि गरिन्छ।

‘रुद्रयामलतन्त्रे महादेव वचन’ का अनुसार प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरी मानिसको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले जनैपूर्णिमाका दिन उनीहरूले गरेको गुन सम्झी त्यसरी भात खुवाई कृतज्ञता ज्ञापनस्वरुप सो यस कार्य गर्ने गरिएको पाैराणिक कथन छ।

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...