Saturday 28th September 2024

अफगानिस्तानको गजनी शहरमा भिडन्तः ३०० भन्दा बढीको ज्यान गयो


तितोपाटी – अफगानिस्तानको गजनी सहरमा  निरन्तर भइरहेको गोलाबारीमा ३०० भन्दा बढीले ज्यान गुमाएका छन् । अफगानी रक्षामन्त्री तारिक शाह बहरामीले  काबुलमा पत्रकार सम्मेलन गर्दै कम्तीमा एक सय सुरक्षाकर्मी र झन्डै ३० जना सर्वसाधारणले ज्यान गुमाएको विवरण सरकारलाई प्राप्त भएको जानकारी दिए । उनले घटनामा अझै धेरैको मृत्यु भएको हुन सक्ने बताए ।

घटनामा झन्डै दुई सय विद्रोही मारिएको बहरामीले जानकारी दिए । दुई लाख ७० हजार जनसंख्या रहेको गजनी सहरमा गत शुक्रबार विद्रोहीहरूले धाबा बोलेका थिए । गजनी सहर काबुल–कान्दाहर राजमार्गमा पर्ने विद्रोही नियन्त्रित दक्षिण र सरकारको उपस्थिति रहेको क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

विद्रोहीले निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयास गरेपछि अफगानी सैनिकसँग उनीहरूको दोहोरो भिडन्त भएको थियो । ‘भिडन्तमा विद्रोहीतर्फका १९४ लडाकुको मृत्यु भएको छ । त्यसमध्ये ९५ जना तालिवानी लडाकु हुन्,’ रक्षामन्त्री बहरामीले भने ।

विद्रोहीमध्ये १२ जना तालिवानी कमान्डरस्तरका लडाकु रहेको रक्षामन्त्री बहरामीकोे भनाइ छ । भीडन्तका कारण गजनी सहरआसपासका क्षेत्रका सञ्चार सञ्जाल अवरुद्ध बनेको छ । तीन दिनदेखि भएको भिडन्तमा कति मानवीय तथा भौतिक क्षति भयो भन्नेबारे यकिन पुष्टि गर्न कठिन भएको स्थानीय अधिकारीहरूले बताएका छन् । करिब १७ वर्षदेखि सरकारविरुद्ध गर्दै आएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्न तालिवानी समूहमाथि दबाब आइरहेका समय विद्रोहीले आफ्नो शक्ति प्रदर्शन गर्ने बहानामा यस्तो आक्रमण गरेको हुन सक्ने अफगानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि इस्लामहरूको मुख्य पर्व इदका अवसरमा गत जुनमा अफगानिस्तान सरकार र तालिवान समूहले युद्धविराम गरेका थिए । दुवै पक्षबाट भएको अस्थायी युद्धविरामको सर्वसाधारण जनताले पनि प्रशंसा गरेका थिए । तर, इद लगत्तै विद्रोहीले युद्धविराम तोडेपछि अफगानस्तान अशान्त छ ।

भिडन्त जारी
रक्षामन्त्री बहरामीका अनुसार विद्रोहीहरूले गजनीका ऐतिहासिक तथा सांस्कृतिक सम्पदामाथि समेत धावा बोलेका छन् । त्यस्तै, टेलि कम्युनिकेसन्सको टावर भत्काइदिएका छन् । रक्षामन्त्री बहरामीले पत्रकार सम्मेलनमा बोल्दै ‘थप २४ घन्टासम्म’ भयावह भिडन्त हुन सक्ने आकलन गरे ।

गृहमन्त्री बार्माकले उच्चस्तरका सुरक्षाकर्मी, सरकारी अधिकारी र सेनाका प्रमुखसमेत गजनीमा रहेको बताए । उनले सहरका विभिन्न भागमा सफाया अप्रेसन चलाइने बताए । अमेरिकी सेनाले सैन्य सहायताका लागि आफ्नो सल्लाहकारको टोली गजनीमा पठाएको छ ।

तालिवानले उक्त सहर कब्जामा लिने प्रयास गरेको भए पनि सेनाले त्यसलाई विफल पार्ने अफगानी अधिकारीहरूको दाबी छ । गजनी प्रान्तका प्रहरी प्रमुख फरेद मसहालले युद्धमा पाकिस्तानी तथा चेचेनसहित अधिकांश विदेशी लडाकु प्रयोग भएको बताए । ‘तालिवानीहरू आफ्नो लक्ष्यमा असफल भइसकेका छन्,’ उनले भने ।

अमेरिकासँग वार्ता गर्ने तालिवानको योजना
सञ्चारमाध्यमका अनुसार अफगानी राष्ट्रपति असरफ घानीले विद्रोहीहरूलाई इद अल अदाका अवसरमा अगस्ट २१ गतेबाट युद्धविराम घोषणा गर्नका लागि मौका दिने योजना बनाएका छन् । यसअघि गत जुनमा पनि तीन दिनसम्म बिदाका अवसरमा युद्ध विराम भएको थियो । तर, सरकारी पक्षले युद्ध विराम लम्ब्याउनका लागि आग्रह गरे पनि विद्रोहीले उक्त आग्रह अस्वीकार ग-यो ।

तालिवानले युद्ध विरामभन्दा पनि शक्ति प्रदर्शन गरेर अमेरिकासँगको वार्ताका लागि आफ्नो पोजिसन खडा गर्ने योजना बनाएको हुन सक्ने विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको छ । झन्डै १७ वर्षदेखि तालिवानले अफगानिस्तानमा युद्ध लड्दै आएको छ ।

तालिवानले गत महिना मात्रै दक्षिण एसियाका लागि उच्च तहका अमेरिकी कूटनीतिज्ञ एलिस वेल्ससँग कतारमा प्रारम्भिक छलफल भएको जनाएको थियो । वासिङटनले यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यद्यपि, तालिवानले आफ्नो कार्यालय राखेको क्षेत्रमा एलिस पुगेको बताइएको छ । तालिवानले अर्को चरणको वार्ताका लागि अपेक्षा गरिएको जनाएको छ ।

सर्वसाधारण थातथलो छाड्दै
युद्धका कारण हजारौँ सर्वसाधारण सहर छाडेर हिँडेका छन् । ६० वर्षका गुलाम मुस्तफा आफ्नो १४ सदस्यीय परिवारसहित छिमेकी मेडन वार्डाक प्रान्तमा बसाइँ सरेका छन् । ‘यो सहर निकै खतरनाक भइसकेको छ । कुन समय कसको ज्यान जान्छ पत्तो नै हुँदैन,’ उनले भने,‘गजनी अब भूतको सहरजस्तो भइसकेको छ ।’

मुस्तफाकी श्रीमती राजियाका अनुसार उनीहरूसँग परिवारसँग पछिल्लो चार दिन खाना, पानी र विद्युत्को अभाव थियो । ‘खोलको पुलमुनि धेरै लास थिए । ध्वस्त घर र सडकमा पनि लास नै लास छन्,’ उनले भनिन् ।

गजनीका अस्पतालमा औषधि अभाव भएको छ । संयुक्त राष्ट्रसंघले सर्वसाधारणमाथि भएको आक्रमणलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।१४ वर्षीया किशोरी फिरेस्टाका अनुसार उनले विद्रोहीलाई देखेकै यो पहिलोपटक हो । ‘मैले धेरै सुनेको थिएँ । तर, यस्तो त्रास पहिले कहिल्यै थिएन । उनीहरू सहरमा घुसे र त्यसपछिका चार दिन हामी धेरै त्रासमा रह्यौँ,’ उनले भनिन् ।

पछिल्ला केही महिना तालिवानले अफगानिस्तानका थुप्रै जिल्लामा आक्रमण गरिरहेको छ । दैनिकजसो आक्रमण गरिरहे पनि उसले कुनै पनि ग्रामीण क्षेत्रमा आफ्नो पकड कायम राख्न सकेको छैन । अमेरिका र नाटोले सन् २०१४ को अन्त्यमा आफ्नो सैन्य मिसन पूरा भएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता बोलाएका थिए । तर, त्यसयता, उनीहरू पटक–पटक सैन्य सहायताका लागि आउनुपरेको छ । अफगानी सेनाले तालिवान विद्रोहीसँग भिडन्त गर्नुपरेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...