Saturday 28th September 2024

भारतको केरलामा भीषण बाढी अाउँदा अधिकांश भूभाग डुबानमा


तितोपाटी – भारतको तटीय राज्य केरलामा बाढीले ११ जिल्ला जलमग्न भएका छन् । बाढीले २९ जनाको मृत्यु भएको छ भने ५४ हजार व्यक्ति घरबारविहीन भएका छन् । सरकारले शिविरमा आश्रय लिइरहेका उनीहरूलाई राहत उपलब्ध गराउन थालेको जनाएको छ । विपद् उद्धार टोलीका साथै भारतीय जल, थल सेना पनि राहत कार्यमा जुटेको छ । भारतीय मौसम विज्ञान विभागले कैयौं जिल्लामा भीषण वर्षा हुने सूचना सम्प्रेषण गरेको छ । इडुक्की जिल्लामा मंगलबारसम्म रातो खतराको सूचीमा राखिएको छ भने वयानड जिल्लालाई पनि बुधबारसम्म खतराको सूचीमा राखिएको छ । यसैगरी कन्नुरलाई सोमबारसम्म रातो खतराको सूचीमा राखिएको छ ।

केन्द्रीय मन्त्री केजे अल्फोन्सले भने, ‘बाढीले केरलाका ११ जिल्ला प्रभावित भएका छन् । केन्द्र सरकारले त्यहाँ सुरक्षाबल पठाएको छ । बिहीबारदेखि राजइका संयन्त्रलाई केरलामा खटाएका छौं ।’

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले पीडितलाई तत्काल राहत पुर्याउन आदेश दिएका छन् । मुख्यमन्त्रीले मृतकका आफन्तलाई ४÷४ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् । घर र जमिन गुमाएका व्यक्तिलाई भने १० लाख रुपैयाँ दिने बताइएको छ । इडुक्की बाँधमा जलस्तर खतराको तहभन्दा निकै माथि छ । यो बाँध २६ वर्षयता पहिलोपटक खोलिएको छ ।

बाढी प्रभावित क्षेत्रमा भारतीय वायुसेना (आईएएफ)का पाँचवटा विमान, तीनवटा हेलिकोप्टर उद्धार कार्यमा जुटेका छन् । आईएएफका प्रवक्ताले भने, ‘वायुसेनाका दुईवटा टोलीलाई विजयवाडा र सैन्य इन्जिनियरका दुईवटा समूहलाई बेङलुरू र हैदराबादबाट खटाइएको छ ।’

राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

भारतको केरला राज्यमा निरन्तरको मुसलधारे वर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय बस्तीलाई प्रभावित बनाएपछि ठूलो संख्यामा नागरिक विस्थापित बनेका छन् । दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

बाढी तथा पहिरोका कारण केरलका खासगरी नदी किनाराका बस्तीमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीलाई लेखेको पत्रमा गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री मोदीलाई पत्र लेखेका हुन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त बजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

बाढीले केरलका कैयौँ जिल्लामा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै कृषि बालीलाई व्यापक प्रभावित बनाएको छ । विगत पाँच दशककै सबैभन्दा ठूलो विपद् केरला राज्यमा देखिएको र यसबाट ठूलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले जनाएका छन् । बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पत्रमा उल्लेख छ ।

अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा चर्चा गरेका छन् । केरलमा बाढीपहिरो र डुबानका कारण नियमित विद्युत् आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत् आएको छ । यसलाई पुरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ ।

गान्धीले केन्द्र सरकारले समस्याप्रति संवेदनशील बनी केरल सरकारसँग समन्वयका साथ अघि बढ्ने र यसबाट पीडितले राहतको महसुस गर्ने गरी बजेटको निकासा हुनेमा विश्वास व्यक्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...