Monday 5th October 2026

रूकुममा विद्यालय भवन अभावमा गोठमै पढ्न बाध्य छन् विद्यार्थी


तितोपाटी – यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् ।

बालशिक्षादेखि कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका १, २ र ३ कक्षाका विद्यार्थी झरी होस् या टन्टलापुर घाम, गोठमा पढ्छन् । भवन अपुग भएपछि उनीहरूको कक्षा गोठमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

स्थानीयको पहलमा २०६५ सालमा विद्यालय स्थापना भएको थियो । ५ कक्षा सञ्चालन गरेपछि कक्षाकोठा अभाव भएको प्रधानाध्यापक अशोक घर्तीमगरले बताए । ०७० सालयताका हरेक वर्षा र हिउँद गोठमै पठनपाठन गरेर कटाइएको उनले बताए । उनका अनुसार विद्यालयमा तीन कोठा अपुग छन् । अहिले दुई भवन छन् । ती भवनका पाँच कोठामा कार्यालय, बाल शिक्षा कक्षा ४ र ५ को पठनपाठन भइरहेको छ । गोठमा पानी चुहिने, पानी पर्दा जस्तापाता बजेको आवाज भित्रसम्म आउँदा पढाइमा बाधा परिरहेको विद्यार्थीले बताए । एउटै गोठभित्र दुई ठाउँँमा काठले बारेर तीनवटा कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापकले बताए ।

बालशिक्षासहित ५ कक्षासम्म पठनपाठन गराउने स्वीकृति प्रदान गरेको सरकारले विद्यालयलाई बालशिक्षा सहयोगी कार्यकर्ताबाहेक अरू सुविधा दिन सकेको छैन । गाउँदेखि टाढा भएकाले स्थानीय अभिभावकले नजिकै विद्यालय स्थापनाको पहल गरेका थिए । स–साना बालबालिकालाई पढ्न जानै अप्ठ्यारो भएपछि विद्यालय स्थापना गर्न गाउँले अघिसरेका थिए । आफैंले शिक्षकको तलब बेहोर्ने जिम्मा लिएर विद्यालय स्थापना गरेका थिए । तर, उनीहरूले भवन बनाउन सकेनन् । विद्यालयमा नियुक्त शिक्षकको तलबभत्ता जुटाउन समस्या भइरहेका बेला भवन बनाउनु चानचुने कुरा नभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष उर्दबहादुर कामीले बताए ।

हरेक महिना तलबका लागि २६ हजार रुपैयाँ जुटाउन हम्मेहम्मे परेको छ । तीन जना निजी स्रोतका शिक्षकको मासिक तलब ८ हजारका दरले २४ हजार रुपैयाँ र बाल शिक्षा सहयोगी कार्यकर्तालाई दुई हजार रुपैयाँ थप्ने पैसा जुटाउन हैरानी बेहोर्नु परिरहेको अध्यक्ष कामीले बताए ।

विद्यालयको आम्दानी भनेकै गाउँको चरिचरनबाट संकलन गरिएको शुल्क र गाउँलेले जम्मा गरेको शुल्क हो । यसैगरी गाउँमा हुने विभिन्न खालका विकास निर्माणमा श्रमदान गरेर उक्त बजेट बचाई विद्यालयका लागि खर्च गरिन्छ । शिक्षकको तलबभत्ता तथा अन्य व्यवस्थापनका लागि गाउँलेले नै स्थपनाकालदेखि नै योगदान गर्दै आएका छन् । उक्त विद्यालयमा हाल २ सय ५० विद्यार्थीले अध्ययन गरिरहेका छन् । ‘स्थानीयले योगदान नगर्ने हो भने विद्यालय सञ्चालन गर्नै सकिँदैन, गाउँमै विद्यालय नभए ससाना बालबालिकाले दु:ख पाउँछन्,’ अध्यक्ष कामीले भने, ‘त्यसैले जसोतसो भए पनि शिक्षा दिइरहेका छौं ।’


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...