Wednesday 29th July 2026

गोर्खामा लास चिर्नेलार्इ पक्रन गएको प्रहरी दोश्रो पटक पनि फिर्ता


‘पेटमा बोक्सीले खुवाएका भ्यागुता, सर्प, माछा र छेपारो हुन्छन्, चिरेर हेर्नुपर्छ र बोक्सी प्रमाणित गर्नु पर्छ ‘

तितोपाटी – धार्चे ६ काशिगाउँमा शव चिर्नेलाई पक्राउ गर्न आइतबार गएको प्रहरीको थप बल पनि फिर्ता भएको छ। पीडित पक्षले किटानी उजुरी गरेका रोशन गुरुङ लगायतलाई लिन गएका २९ जनाको टोली आइतबार बिहान रित्तै फर्किएको त्यहाँका गाउँकार्यपालिका सदस्य आशबहादुर घलेले जानकारी दिए।

गाउँलेले आरोपीहरूलाई पठाउन कडा रूपमा प्रतिवाद गरेपछि प्रहरी रित्तै फर्किएका उनले बताए। ‘बिहान नौ बजेतिर प्रहरीको थप टोली गाउँमा आइपुगेका थिए। गाउँलेहरू पनि ४०/५० जना भेला भएका थिए’ गाउँ कार्यपालिका सदस्य घलेले भने, ‘उजुरी दिनेलाई गाउँमै बोलाएर छलफल गर्छौं। हामी कदापि जाँदैनौं भनेर गाउँलेले एक स्वरले भनेपछि प्रहरी फर्किए।’ आफ्नो कुरा गाउँमै राख्ने, जिल्लामा नजाने, यसबारे जनप्रतिनिधि, प्रहरी कसैले भनेको पनि नमान्ने गाउँलेको अडान रहेको उनले बताए।

गाउँकी एक महिला बोक्सी भएकी र उनकै कारण स्थानीय भीम गुरुङको मृत्यु भएको तथा मृतकको शरीरभित्र छेपारो, सर्प, भ्यागुता रहेको प्रमाणित गर्न भन्दै गत साउन ११ गते मृतकको शव चिरिएको थियो। सो घटनाको नेतृत्व गरेको भन्दै बोक्सीको आरोप खेपेकी काली गुरुङका दुई छोरीहरू सोममाया र राममायाले प्रहरीमा रोशन गुरुङविरुद्ध किटानी जाहेरी दिएका थिए।

आरोपी रोशन गुरुङलाई पक्राउ गर्न शनिबार गएको प्रहरीमाथि गाउँका उच्छृंखल समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएका थिए। साथै बोक्सीको आरोप खेपेकी काली गुरुङ, उनकी छोरी मीना र दिदीमाथि पनि गाउँलेले आक्रमण गरेका थिए। घटना मिलाउन गएका गाउँकार्यपालिकाका सदस्य आशबहादुर घले र अर्का सदस्य कान्ते गुरुङमाथि पनि गाउँलेले आक्रमण गरेका थिए।

कसैलाई बोक्सी आरोप नलगाएको गाउँलेको दाबी छ। ‘मृतक भीम गुरुङले मर्ने बेलामा मेरो शरीरभित्र सर्प, भ्यागुता, छेपारो हिडेजस्तो गर्छ। के रहेछ, मरेपछि काटेर हेर है भनेकाले उनको अन्तिम इच्छा पूरा गर्न शव काटेको हो। बोक्सी लागेर मरेको आरोपमा काटेको होइन भन्ने गाउँलेको भनाइ छ’, घलेले भने, ‘तर बढाइचढाइ गरेर उजुरी दिएको भन्दै गाउँले रिसाएका हुन्।’ गाउँलेलाई फसाउन बढाइचढाइ गरेर उजुरी गरिएको गाउँलेको भनाइ छ।

बोक्सीको आरोप र आक्रमण खेपेकी काली र मीनले पनि आइतबार गाउँ छोडे

प्रहरीले गाउँमा समझदारीको वातावरण बनाएर फर्किएको जिल्ला प्रहरी प्रमुख एसपी विमल बस्नेतले बताए। ‘प्रहरीमाथि गरिएको दर्व्यबहारप्रति उनीहरूले क्षमा याचना गरे। बाँकी विषयमा वडाध्यक्षको रोहबरमा छलफल गर्ने समझदारी बनाएर प्रहरी फर्किएको हो’, एसपी बस्नेतले भने।

तर गाउँमा बस्न सक्ने वातावरण नरहेको उजुरी दिन सदरमुकाम आएका पीडित राममाया र सोममायको भनाइ छ। ‘हामीलाई बोक्सी भनेर बारम्बार आरोप लगाइरहन्छन्’, गुरुङ दिदीबहिनीले भने, ‘लास काट्नुभन्दा केही समयअघि पनि हामीमाथि बोक्सीको आरोप लगाएपछि हामीले उजुरी दिएका थियौं। गाउँमा पनि मिल्न सकेन, मान्बु प्रहरी चौकीमा पनि मिल्न नसकेर जिल्ला प्रहरी कार्यालयमा आएर मिलापत्र गरेर फर्किएका थियौं। गएपछि फेरि आरोप लगाउन थालिहाले।’ गाउँलेले एक्ल्याएर आफूहरूमाथि अन्याय गरेको पीडित गुरुङ दिदीबहिनीको गुनासो छ।

बोक्सीको आरोप र आक्रमण खेपेकी काली र मीनाले पनि आइतबार गाउँ छोडेका छन्। उपचार गर्न भन्दै उनीहरू शनिबार बेलुका गाउँबाट झरेको र आइतबार बीच बाटोसम्म आइपुगेको छोरीहरूले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...