Sunday 26th May 2024

गोर्खामा बोक्सीको अारोपमा अामाछोरीमाथि दुर्व्यबहार


पीडितद्वारा प्रहरीमा उजुरी, पीडकलार्इ पक्राउ गर्न जाँदा प्रहरीमाथि नै धावा

तितोपाटी – गोर्खा जिल्लाको  धार्चेका स्थानीय वासिन्दाले बोक्सी आरोप लगाउँदै एकै घरका आमाछोरीलाई सामाजिक वहिष्कार गरेका छन् । दुर्व्यबहार गर्ने स्थानीयका विरुद्ध जिल्ला प्रहरीमा निवेदन दिएपछि उनीहरू झनै असुरक्षित भएका छन् । सुरक्षा माग्दै आमाछोरी प्रहरीमा आएका छन् ।

आरोपी पक्राउ गर्न सादा पोसाकमा गाउँ पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि धार्चेमा तनाव छ । ‘शनिबार त्यहाँ पुगेको टोलीमाथि उनीहरू जाइलागे । त्यसपछि आरोपीलाई पक्राउ गर्न सकिएन,’ एसपी विमल बस्नेतले भने, ‘ढिलोचाँडो नियन्त्रणमा लिएरै छाड्छौं ।’ मान्बु चौकीबाट सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । रित्तै फर्केपछि थप बलसहित अर्को टोली खटाउने तयारी भइरहेको एसपी बस्नेतले बताए । उजुरी दिएका आमाछोरीलाई आरोपीले धम्क्याउन छाडेका छैनन् ।

यसरी भयो घटना
गत मंसिरमा गाउँकै ५२ वर्षीय भीम गुरुङ बिरामी परेका थिए । रगत बान्ता गर्न थालेपछि धामीझाँक्रीले बोक्सी लागेको र ती छिमेककै आमाछोरी रहेको बताए । उपचारार्थ चितवनसम्म पुगे पनि गुरुङ निको भएनन् । साउन १० मा उनको मृत्यु भयो । भोलिपल्ट अन्तिम संस्कारका लागि चिहानडाँडा लगिएको शवलाई धामीले ‘पेटमा बोक्सीले खुवाएका भ्यागुता, सर्प, माछा र छेपारो हुन्छन्, चिरेर हेर्नुपर्छ’ भनेका थिए । मलामी गएका केहीले गुरुङको सदगतअघि पेट चिरेर हेरेका थिए ।

स्थानीयका अनुसार चैत २४ गते राति धामीले बोक्सी बकाउने भन्दै मध्यरात आमाछोरीलाई झिकाएर कालो कुखुरा काटे । रगतको टीका लगाइदिँदै दुर्व्यबहार गरे । धामीले आरोप लगाएपछि छरछिमेकबाट अपमानको सिकार भएका आमाछोरी ज्यानकै असुरक्षा भएपछि गत जेठ पहिलो साता मान्बु प्रहरीचौकी पुगेका थिए ।

चौकीले सामान्य घटना भन्दै मिलापत्र गरेर पठाएको खुलेको छ । मिलापत्रपछि पनि अपमानका घटना रोकिएनन् । गुरुङको मृत्यु भएपछि आमाछोरी सदरमुकाम पुगेर न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुगे । धामीले आरोप लगाएपछि आमाछोरीसहित पीडित परिवारलाई स्थानीयले सामाजिक भेला र संस्कारका काममा बोलाउन छाडेका थिए । मृत्यु भएकाका घरमा पठाएको सिदा फिर्ता गरिदिने र छोएको नखानेजस्ता गतिविधि चलाएका थिए ।

जाहेरी आउनेबित्तिकै आरोपी फरार हुन सक्ने भन्दै प्रहरीले घटना सार्वजनिक नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको थियो । टोली परिचालन गरे पनि स्थानीयले अवरोध गरी आरोपी पक्राउ गर्न नदिएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको छ । जाहेरीमा उल्लेख भएको ‘गुरुङको अन्तिम संस्कारअघि पेट चिरेको’ घटना अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । शनिबारै मुख्य आरोपी फरार भइसकेको हुन सक्ने प्रहरीको शंका छ । ‘अब आरुघाट चौकीबाट थप टोली त्यहाँ जान्छ,’ एसपी बस्नेतले भने, ‘मुख्य आरोपीलाई जसरी भए पनि पक्राउ गर्ने कोसिसमा छौं ।’

कसरी फर्कनु घर ?
आमाछोरीले सदरमुकाम आएर उजुरी दिएका थिए । सामाजिक बहिष्कारमा परेर अपमान खेपिरहेका उनीहरूलाई आरोपितले उल्टै धम्क्याइरहेका छन् । ‘त्यहाँ आमालाई पनि असुरक्षा भएको खबर छ । अब घर पनि कसरी जाने होला,’ छोरीले भनिन् । प्रहरीमा किन पुगेको भन्दै पीडक पक्षले धम्क्याएको उनले बताइन् । घटनास्थल गोरखा सदरमुकामबाट उत्तरतर्फ पर्छ । गाडीमा सोतीसम्म ६ घण्टाको यात्रापछि एक दिन पैदल हिंडेपछि मात्रै पुगिने उक्त गाउँमा सुरक्षाको उचित प्रबन्ध गरेर मात्रै जाने तयारी प्रहरीले गरेको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुबेत “भाषा अनि संस्कृतिमा बिभिधता विकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्था खोटाङ-कुवेत सम्पर्क मञ्चको आफनो…

भनौँ मैले के भनूँ कसरी भनूँ यो समयको कुरा दैवले हो जान्नु किन गर्छौ अरूको कुरा मात्र के सिक्यौ तिमीले…

संगीत हुन्थ्यो त गीत हुन्थ्यो तिम्रो चोखो प्रित हुन्थ्यो । अाँखाबाट झरेको अाँसु फुलको चोखो शीत हुन्थ्यो । हारीरहेको जिन्दगीको…

प्रतिकृयाहरू
...