Sunday 11th January 2026

‘बाल याैन दुराचार’ को गन्तव्य बन्दै नेपाल


तितोपाटी – बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकहरू पक्राउ पर्न थालेपछि नेपाली बालबालिकामाथि जोखिम बढेको भन्दै प्रहरीले सतर्क गराएको छ। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

गत साता राजधानी काठमाण्डूबाट पक्राउ परेका दुईजना फ्रान्सेली नागरिकले पीडितलाई आर्थिक प्रलोभनमा पारेर बाल यौन दुराचार गरेको पाइएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। पर्यटक भिसामा नेपाल आएका ती फ्रान्सेली नागरिकहरूले १० देखि १४ वर्षसम्मका बालकका अभिभावकलाई समेत प्रलोभनमा पारेर यौन दुराचार गरेको पाइएको प्रहरीको दाबी छ।

मुद्दा

“बच्चाहरूलाई के-के किनिदिने, घुमाउन लिएर जाने, रेष्टुरेन्ट लिएर जाने, परिवारहरूलाई कोही बिरामी हुँदा उपचार गराइदिनेजस्तो सहयोग गरेर बालकहरूलाई यौन दुराचार गरेको पाइयो,” नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने। प्रहरीका अनुसार नेपालमा बाल यौन दुराचार गरेको आरोपमा गएको एक वर्षमा ९ जना विदेशी नागरिकहरू पक्राउ परिसकेका छन्। पक्राउ परेका सबैजना विरूद्ध बाल यौन दुराचारको अभियोगमा अदालतमा मुद्दा चलाइएको छ। उनीहरूको मुद्दा अदालतमा विचाराधीन रहेको शर्माले बताए।

पक्राउ परेकामध्ये फ्रान्स, जर्मनी र नेदरल्यान्डका दुई-दुई नागरिक छन् भने अष्ट्रिया र क्यानडाका एक-एक। उनीहरूमध्ये अधिकांश ६० वर्षभन्दा बढी उमेरका छन्।

विश्वास
नेपाली बालबालिका र तिनका अभिभावकले विशेषगरी विकसित मुलुकबाट आएका व्यक्तिहरूलाई सजिलै विश्वास गर्ने प्रवृत्ति रहेको बालअधिकारकर्मीहरू बताउँछन्। कतिपयले त्यही विश्वासका आडमा समेत बालबालिकालाई फसाएको प्रहरी अधिकारीहरूले बताए। प्रहरीका अनुसार केही विदेशी नागरिकले समाजसेवा गर्ने भनेर संस्था चलाएरै पनि बाल यौन दुराचार गरेको समेत भेटिएको छ। जनचेतना र सरकारी निकायबीच बालबालिका संरक्षणका विषयमा समन्वय नहुँदा यस्ता गतिविधि रोक्न समस्या परेको एकजना बाल अधिकारकर्मी तारक धितालले बताए।

शिक्षा
उनले भने, “बालबालिकाका निम्ति कसले के गर्दछ भन्ने नियमन प्रणाली अझै पनि दह्रो नभइसकेको अवस्थामा बाल यौन दुराचारीहरूले नेपाललाई केन्द्र बनाएर आउने गरिराखेको देखिन्छ।” विकसित मुलुकमा सानैदेखि बालबालिकालाई नचिनेका मान्छेहरूसँग संगत गर्नु हुन्न भन्ने शिक्षा दिने गरिएको छ। नेपालमा पनि त्यस्तै शिक्षा दिनु जरुरी भइसकेको मनोविज्ञहरू बताउँछन्। बालबालिकालाई सजिलै प्रभावमा पार्न सकिने भएकाले विकसित मुलुकबाट कतिपय व्यक्तिहरू गलत नियतले नेपाल आएको हुनसक्ने काठमाण्डूस्थित पद्मकन्या क्याम्पस मनोविज्ञान विभागकी सहप्राध्यापक लता श्रेष्ठले बताइन्।

कारबाही
“अहिलसम्म पनि हाम्रो समाजमा बच्चाहरूलाई यौन सम्बन्धी कुराहरू भन्नु हुँदैन भनेर लुकाएर राख्ने प्रचलन छ,” उनले भनिन्, “त्यसले गर्दा उनीहरूलाई आत्मविश्वास पनि हुँदैन र उनीहरूलाई सही र गलत छुट्टयाउने जानकारी पनि हुँदैन।” विदेशीबाट हुने बाल यौन दुराचार रोक्न कानुनी कारबाहीलाई प्रभावकारी बनाउनु पर्ने बाल अधिकारकर्मीहरुको भनाइ छ। बाल यौन दुराचारका मुद्दामा अधिकतम १३ वर्षसम्म जेल सजाय र क्षतिपूर्ति भराउने कानुन रहेको प्रहरी अधिकारीहरू बताउँछन्। तर यस्तो अभियोगमा पक्राउ परेकाहरू समेत सजिलै छुट्ने र सरकारले बाल यौन दूराचारलाई गम्भीर प्रकृतिको अपराधका रूपमा नलिने प्रवृत्तिले थप समस्या निम्त्याएको अधिकारकर्मीहरु बताउँछन्।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...