Saturday 19th April 2025

पाकिस्तानमा इमरानको पार्टी विजयी, गठबन्धन सरकार बन्ने


तितोपाटी – पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनमा पूर्वक्रिकेटर इमरान खानको तेहरिक–ए–इन्साफ (पीटीआई) पहिलो भएको छ । निर्वाचन आयोगका अनुसार पीटीआईले कुल २ सय ७२ स्थानमध्ये १ सय १४ स्थान जितेको छ ।

सरकार गठनका लागि आवश्यक १ सय ३७ स्थान प्राप्त गर्न नसकेपछि भने उनले सत्ता सहयात्री खोजी गर्नुपर्ने भएको छ । खानले भने आफ्नो दल विजयी भएको विहीबार नै घोषणा गरेका थिए ।

पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने संघारमा छन् । खान आक्रमक, कठोर र कुशल कप्तानका रूपमा चिनिन्थे । भारतका पूर्व क्रिकेटकर कपिल देवलाई उद्धृत गर्दै भारतीय अंग्रेजी दैनिक द टाइम्स् इण्डियाले लेखेको छ, ‘इमरान एउटा कठोर कप्तान थिए । उनको नेतृत्वमा पाकिस्तानले निकै राम्रो गरेको थियो । म आशा गर्छु, उनले पाकिस्तानको प्रधानमन्त्रीका रुपमा पनि राम्रो काम गर्नेछन् ।’

हुन त क्रिकेटमा जस्तै राजनीतिमा पनि उनी बोल्ड र चातुर्यपूर्ण लिँदै आएका छन् । १९९६ मा गठन भएको (पिटिआई) ले सन् १९९७ को चुनावमा एउटा पनि सिट जितेन भने २००२ मा भएको दोस्रो चुनावमा खान मात्र विजय भएका थिए । उनी निराश देखिएनन् । बरु कल्याणकारी राज्य, सुशासन र राष्ट्रवादका पक्षका चर्का नारा र आक्रमक निर्णयसहित राजनीतिको मैदानमा डटि रहे । धाँधलीको आरोपमा पिटिआईले २००८ को चुनावनै बहिष्कार गऱ्यो । सन् २०१३ को चुनावमा भने उनको दल तेस्रो शक्तिको रुपमा उदायो । अफगानिस्तानमा भएको अमेरिकी हमलादेखि मुलुकभित्रको भ्रष्टाचार र कमजोर अर्थतन्त्रजस्ता विषयलाई चर्को रुपमा उठाउँदै आएका उनले यसपटको चुनावमा ‘नयाँ पाकिस्तान’ को नारासहित जित हासिल गरेका छन् ।

६५ वर्षीय खान पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएसँगै नयाँदिल्लीमा चिन्ता र आशंका दुवै देखिएको छ । आज प्रकाशित भारतीय अखबारका सामग्रहीहरु पनि तिनै त्यही चिन्ता र आशंकामा केन्द्रित थिए । विशेषगरी खान र उनको पार्टी पिटिआईलाई सत्तामा पुर्‍याउन पाकिस्तानी सेनाले खेलेको भूमिकाप्रति नयाँदिल्लीका विश्लेषक र अधिकारी बढी नै चासो देखिन्छन् । त्यो चासोका पछाडि भारतीय संस्थापनको पूर्वप्रधानमन्त्री नवाज सरिफप्रति नरम दृष्टिकोण हुनु पनि हो ।

सेनाको सहयोगमा सत्तामा पुगेका खान नेतृत्वको सरकारसँग सम्बन्ध अगाडि बढाउन सहज नहुने दिल्लीको बुझाई छ । विशेषगरी खानले सरकारको नेतृत्व गरे पनि विदेश र आन्तरिक मामिलामा सैनिक नेतृत्व हावी हुने आशंका दिल्लीको छ । दिल्लीको आशंकालाई आज प्रकाशित दैनिक पत्रिकाले पनि मुखरित गरेका छन् । टाइम्स अफ इण्डियाले त ‘जनरल स्माइल याज क्याप्टेन बिकम्स् किंग’ भन्दै खानको जितका पछाडि सैनिक जनरलको हात भएको दावी गरेको छ । नयाँदिल्लीका एक सुरक्षा मामिला जानकारले पनि खानको विजयलाई भारतका लागि ठूलो ‘सेटब्याक’ भएको दाबी गरे । ‘एउटा लोकतान्त्रिक मुलुक भारतले सेनाको बलमा सत्ता पुगेको सरकारलाई कसरी सहकार्य गर्न सक्छ,’ उनले भने ।

त्यसमाथि चुनावपछि दिएको पहिलो मन्तव्यमै खानले आफ्नो सरकारको ध्यान चीनलगायतका मुलुकसँग सम्बन्ध सुधारमा केन्द्रित हुने बताएर दिल्लीलाई थप सशंकित तुल्याएका छन । उनले चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) मा लगानी गरेको भन्दै चीनको प्रशंसासमेत गर । प्रस्तावित सिपेक विवादास्पद कश्मिर भूभाग भएर जाने भएकाले त्यसप्रति शुरुदेखि नै आपत्ती जनाउँदै आएको छ ।

खानको उदयसँगै पाकिस्तान र अफगानिस्तानबीच विकसित हुने सम्बन्धलाई लिएर पनि नयाँदिल्लीको चासो रहेको छ । किनकी उनले अफगानिस्तानमा अमेरिकी सैनिकको उपस्थितिको आलोचना गर्दै आएका छन् । त्यति मात्र होइन, उनले अफगानिस्तान र पाकिस्तानबीच खुला सिमा हुनुपर्ने पनि बताउँदै आएका छन् । यसले पनि उनी अफगानिस्तानमा पाकिस्तानको भूमिका विस्तार गर्ने पक्षमा रहेको प्रष्ट हुन्छ । त्यसैगरि उनले अफगानिस्तानका तालिवा विद्रोहीसँग पनि उनको ‘सहज’ सम्बन्ध रहेको बताइन्छ ।

भारतले पनि अफगानिस्तानमा आफ्नो भूमिका बढाउँदै लगेको थियो । पूर्वाधार विकासमा सहयोग गर्नेदेखि प्रत्यक्ष अनुदानमार्फत् भारतले अफगानिस्तानलाई सहयोग पुरयाउँदै आएको थियो । नरेन्द्र मोदी र सि चिन पिगंबीचको उहान भेटमा चीन र भारत मिलेर अफगानिस्तानमा पूर्वाधार विकास गर्ने सहमति नै भएको थियो । त्यतिमात्र होइन पछिल्ला वर्षहरुमा भारत सरकारकै आग्रहमा भारतका निजी कम्पनीहरुले पनि अफगानिस्तानमा लगानी बढाउँदै लगेका छन् ।

खानको छवी भारतविरोधी रहे पनि आफ्नो जित सुनिश्चित भएपछि दिएको मन्तव्यमा आफू भारतसँगको सम्बन्ध सुधार गर्न चाहेको बताएका छन् । ‘यदि भारतको नेतृत्व एक कदम पाइला सार्छ भने हामीहरु दुई कदम सार्नेछौ त्यसैले वार्ताका लागि भारतले अग्रसरता लिनुपर्छ’ उनको भनाई उद्धृत गर्दै अर्को भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले लेखेको छ । तर, शान्ति र वार्ताका लागि भारतले अग्रसरता लिनुपर्छ भन्ने खानको भनाई पाकिस्तानी सेनाले विगतदेखि लिँदै आएको अडानकै सेरोफेरोमा रहेको भारतीय विश्लेषकहरुको छ । खानको जितका पछाडि सेनाको भूमिका छ भन्ने दावी चलिरहेका बेला उनको भनाईलाई स्वाभाविक रुपमा लिनुपर्ने उनीहरु बताउँछन् ।

खानको उदयलाई लिएर विभिन्न आशंका र चासो व्यक्त भइरहेका बेला पाकिस्तानी सेनाले भारतसँगको सम्बन्ध साँच्चिकै सुधार गर्न चाहेको हो भने त्यसतर्फ सकारात्मक पहल हुन सक्ने बुझाई पनि दिल्लीमा रहेको छ । त्यसमाथि खानको पार्टीले स्पष्ट बहुमत हासिल नगरेका कारण मिलिजुली सरकार बन्ने र त्यसको साँचो पाकिस्तानी सेनासँग रहने विश्लेषकहरुको दावी छ । र, त्यस्तो अवस्थामा खानले चाहेर पनि सैनिक जनरलहरुको चाहनाविपरीत भारतसँग सम्बन्ध सुधारका लागि अगाडि बढ्न नसक्ने बुझाई दिल्लीको छ ।

त्यसैले सत्ताको बागडोर सम्हालेपछि क्रिकेटको मैदानमा भारत विरुद्ध सँधै आक्रमक र सफल कप्तान रहेका खानले भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाउलान् ? भन्नेमा दिल्ली संस्थापनमा विशेष चासो रहेको पाइन्छ ।


सम्बन्धित शीर्षकहरु

जगदीप धनखडले भने- धारा १४२ लोकतान्त्रिक शक्तिहरू विरुद्ध आणविक क्षेप्यास्त्र बनेको छ, उपराष्ट्रपति जगदीप धनखडले बिहीबार न्यायपालिकामाथि प्रतिक्रिया दिए। उनले…

आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ युवाहरूको श्रम र…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक हार्वर्ड विश्वविद्यालयलाई निशाना बनाएका छन्। ट्रम्पले भनेका छन् कि हार्वर्ड विश्वविद्यालय अब पढ्नको…

प्रतिकृयाहरू
...