Saturday 21st March 2026

मंगल ग्रहमा पानीको ताल फेला पर्यो


तितोपाटी – अनुसन्धानकर्ताहरूले मङ्गल ग्रहमा तरल अवस्थामा पानी विद्यमान रहेको प्रमाण फेला पारेका छन्।

उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको छ र त्यो झन्डै २० किलोमिटर चौडा छ।

यसअघि गरिएका खोज अनुसन्धानहरूले मङ्गल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए। तर स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो।

यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो।

तर पातलो वायुमण्डल भएकाले सो ग्रह चिस्सिएको छ र पानी हिउँ भएर जमेको छ।

मङ्गल ग्रहको परिक्रमा गरिरहेको मार्स एक्स्प्रेस नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो।

यो अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा. रोबर्टो ओरोसेई भन्छन्, “सम्भवत: यो त्यति विशाल ताल हैन।”

मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निर्क्योल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको छ।

“यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ। यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो हैन,” उनले भने।

कसरी पत्ता लाग्यो?
मार्सिसजस्ता रेडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा सङ्केत पठाएर फर्केको प्रतिसङ्केतको परीक्षण गर्छन्।

यही विधि प्रयोग गरेर मङ्गल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको प्रा. ओरोसेई बताउँछन्।

तर यो खोजले मङ्गलमा जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन।

ओपन युनिभर्सिटीका डा. मनीष पटेल भन्छन्, “हामीलाई धेरै पहिलादेखि नै मङ्गलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ। त्यसैले अहिले मङ्गलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ।”

“त्यस्तो स्थानमा नै हामी हानिकारक विकिरणबाट पर्याप्त सुरक्षा पाउनसक्छौँ। र, त्यहाँ नै चाप एवम् तापक्रम बढ्न गई अन्य स्थानको दाँजोमा उपयुक्त स्तरमा पुग्ने गर्छन्।”

उनी भन्छन्, “तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भने यसले जीवनका लागि अत्यावश्यक हुने पानीलाई तरल अवस्थामा रहन दिन्छ।”

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...