Tuesday 10th March 2026

केन्याको रात्री क्लबमा बन्दी बनाइएका २१ नेपाली युवतीको प्रहरीद्वारा उद्दार


तितोपाटी – मजुरा नाचको लागि मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहिबार राती क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।

केन्यास्थित मानव वेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाई र अपराध एकाईको संयुक्त टोलीले मोगोसियो सडकमा रहेको दुई क्लबमा छापा मार्दा उनीहरुलाई उद्धार गरेका हुन् । ‘प्रहरीले नियमित छापा गर्ने क्रममा नेपाली युवतीलाई उद्वार गरेको हो’, केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले भने,‘यो एउटा सामान्य छापा हो ।’

अपराध एकाईका अनुसार मुख्य अभियुक्तलाई समेत पक्राउ गरिएको छ । ‘२१ जना नेपाली युवतीलाई मानवतस्करी गरी शोषणको लागि केन्या ल्याइएको हो,’प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमा भनेको छ,‘उनीहरुलाई क्लबमा गैरकानुनी ढंगले काममा लगाइएको थियो ।’

प्रहरीले प्रक्राउ गरेको तीन अभियुक्तलाई मानव तस्करविरुद्ध ऐनबमोजिम कारबाही अगाडि बढाइएको जनाएको छ । मानव तस्करले मजुर नाचको लागि अवैध रुपमा केन्या लैजाने गरेको छ ।
केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको छ । गत कार्तिक २३ मा प्रहरीले पक्राउ गरेका ललितसिंह सुवालका अनुसार कविता नाम गरेकी भारतीय मुलकी केन्याली महिला काठमाडौं आएकी थिइन् ।

केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर, आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् । युवतीको छनोट गर्न केन्याबाटै एक महिला आएको सूचना पाए पनि प्रहरीले तिनलाई भने पक्राउ गर्न सकेन । नेपाली युवतीले आफूहरूले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासोसहितको म्यासेज सुवाललाई गरेका थिए । प्रहरीका अनुसार सुवालले एउटा युवती पठाएबापत ५० हजार रुपैयाँ लिने गर्थे ।

प्रहरीका अनुसार डान्सबारमा नाँच्ने काम भनिए पनि धनी ग्राहकहरूको यौन तृष्णा पूरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो । त्यही भएर केन्याली डान्सबारका सञ्चालकले आफैंले सुन्दरी युवतीको परिभाषा बनाएका छन् । सुवालले बयानका क्रममा नेपालबाट पठाइने युवतीको खर्च सबै केन्याकै डान्सबारले बेहोर्ने बताएका थिए । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्‍याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् ।

केन्या र तान्जानियाको दारेसलाममा रहेको भारतीय सञ्चालक रहेको ६ वटा डान्सबारमा नेपाली युवतीहरू मुजुरा डान्स गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । प्रहरीका अनुसार लगिएका युवतीलाई डान्सबारका सञ्चालकले ३ सय डलर लिएर एक रात वा दिनका लागि ग्राहकलाई बेच्ने गर्छन् । त्यसरी बेचिएका युवतीलाई एकैदिनमा चारदेखि पाँच जनासँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न लगाइन्छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...