Sunday 4th October 2026

बाग्लुङको बुर्तिबाङ बजारमा अविरल वर्षा पछिको पहिरोका कारण दर्जनाै घर पुरिए


तितोपाटी –  बाग्लुङमा हिँजो मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेको पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ ।

बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ। यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ।

‘राति १० बजेपछि झनै ठूलो पानी परेकोले कोही पनि सुत्नै सकेनन्’ स्थानीय संचारकर्मी रामनारायण सुवेदीले भने, ‘मानवीय क्षति नभएपनि धेरै मानिसको बास गुमेको छ।’ पहिरो खस्न थालेपछि धेरैले भागेर ज्यान बचाएको ईलाका प्रहरी कार्यालयका निरिक्षक ओमप्रकाश यादवले बताए।

प्रहरी र स्थानीयले रातिदेखि नै उद्दारको काम थालेका थिए। ‘पहरी खस्नासाथ डोजर लिएर उद्दारमा खटियौं, घरभित्रका सबैलाई जवरजस्ती सुरक्षित स्थानमा पठायौं,’ यादवले भने, ‘समयमा उद्दार नगरेको भए मानवीय क्षति हुन्थ्यो।’ प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो। त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।

बजारभर हिलो पसेकोले पैदल हिँड्न पनि सास्ती भएको छ। तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको यादवले बताए। पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन्। धेरैजसोले पालेका कुखुराहरु सबै पुरिएको सुवेदीले बताए। प्रहरीले उद्दारको काममा खटिने बाहेकलाई सुरक्षित स्थानमा बस्न भनेको छ।

बजारदेखि भवरेटा जाने ग्रामीण सडक खनेको ट्रयाकबाट पानी सोहोरिएपछि बजारमा पहिरो चलेको प्रहरीले बतायो। पानीले ढुंगा, माटो एकैसाथ ल्याएकोले ठूलो पहिरोको रुप लिएको हो।


सम्बन्धित शीर्षकहरु

भारतका विभिन्न शहरमा हजारौं युवा र विपक्षी दलका समर्थकहरूले निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन…

ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका…

यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ।…

प्रतिकृयाहरू
...