Friday 27th March 2026

देह व्यापारमा लगाउन बालिकाहरूलार्इ छिटो बढ्ने अाैषधी !


तितोपाटी – विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ।

किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने मानव बेचबिखनविरुद्ध काम गरिरहेकाहरू बताउँछन्।

प्रहरीले चाहिँ नेपालभित्र यस्तो घटनामा परेको भनी हालसम्म उजुरी नपरेको बताएको छ।

शरीर ठूलो देखियोस् भन्ने उद्देश्यले आफूहरूलाई ग्रोथ हर्मोन लगायतका औषधि दिइएको कतिपय पीडित नेपाली किशोरीले पुष्टि गरेका छन्।

त्यस्तैमध्येकी एक किशोरीले आफ्नो अनुभव सुनाउँदै भनिन्, “मलाई दिनको दुई पटक लामो लामो रातो चक्की ‌औषधि खान दिइन्थ्यो। त्यो खादाँ मलाई बान्ता आउँथ्यो।” “सकेसम्म खान नपरोस् जस्तो लाग्थ्यो। तर खाएन भने गाली गर्थे, कुट्थ्ये र उनीहरूले नै खुवाइ दिन्थे। त्यो खायो भने छिट्टै ठूलो हुन्छौ र घर जान पाउँछौ भन्थे उनीहरूले।” उनी आठ वर्षकी हुदाँ पढ्नका लागि काठमाण्डू आएकी थिइन्।

एक महिलाले छोरीलाई गुणस्तरीय शिक्षा दिने भनी आश्वस्त पारेपछि आठ सन्तानमध्येकी एक उनलाई अभिभावकले ती महिलाको जिम्मेवारीमा पठाइदिएको उनले बताइन्।

तर काठमाण्डूबाट भारतको एउटा शरहमा एउटा नेपाली परिवारसँग राखियो।

जहाँ ती बालिकाले घरधन्दा गर्नुपर्थ्यो, त्यहाँ बसेको करिब दुई वर्षपछि उनलाई अर्को शहरमा पुर्‍याइएको उनी बताउँछिन्।

“यहाँ पनि नेपाली परिवारसँगै बसेँ। उनीहरूले मलाई त्यो औषधि दिन थाले। त्यस्तो औषधि खुवाए र करिब दुई वर्षपछि उनीहरूले मलाई बेचिदिए। त्यो नराम्रो काम गर्ने ठाउँ थियो जहाँ म सबैभन्दा सानी थिएँ।” “ती मानिससँग जादिनँ भन्यो भने तिमीलाई हामीले किनेको पैसा तिर्नपर्छ भन्दै कुट्थ्ये। धन्न म त्यहाँ पुगेको छ महिनामै पुलिसले छापा मार्‍यो र म त्यहाँबाट बाहिर आउन सकेँ।”

भारतसँगका नाकामा प्रहरी र विभिन्न गैरसरकारी संस्थाको जाँच तीव्र भएपछि मानवतस्करहरूले साना बालिकाहरूलाई लक्ष्ति गर्न थालेको मानव बेचबिखनविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन्। “किशोरीहरूमाथि निगरानी भइरहेको समयमा साना बालिकालाई लिएर नाका पारि जान सजिलो भयो। कसैले सोध्यो भने मेरै बच्चा हो भने भइहाल्यो, सजिलो हुन्छ।” बालिकाहरूलाई राम्रो विद्यालयमा पढाइदिने प्रलोभन देखाएर लैजाने र पछि बेच्ने गरेको पाइएको खड्काले बताए।

भारतमा रहँदा एउटी बालिकालाई समयभन्दा अघिनै किशोरी बनाएको देखेको अनुभव बेचबिखनविरुद्ध सक्रिय शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारको पनि छ। उनी भन्छिन्, “म भारतमा समस्यामा परेको बेला म परेकै ठाउँमा एक ९ वर्षको बालिका ल्याएको थियो। त्यसपछि ऊ दुई महिना जति गायब भयो।” “ऊ फर्किँदा मैले उसलाई चिन्न सकिनँ। मान्छै हलक्कै बढेर आएको थियो। तर बोली चाहिँ एकदम सानो थियो।” प्रायः गरीब र सीमान्तकृत परिवारका बालिकाहरू त्यहाँ भेटेको दुनुवारले बताइन्।

यस्ता औषधि सुईमार्फत दिने गरेको भेटिएको र यसको थुप्रै नकारात्मक असर हुने चिकित्सकहरू बताउँछन्।

डा. अरुणा उप्रेती भन्छिन्, “यस्ता औषधिले बालिकाको शरीर किशोरीको जस्तो बनाइदिन्छ। यसले जीवनभरि नराम्रो असर पार्छ। विशेषगरी पाठेघरमा असर गर्छ अनि हड्डीमा पनि समस्या आउनसक्छ।”

पछिल्लो समय मानव बेचबिखन बढेको प्रहरीको आँकडाले देखाउँछ। २०७१/ ७२ सालमा बेचबिखनसम्बन्धी १८१ वटा मुद्धा दर्ता भएका थिए। त्यो बढेर २०७२/७३ मा त्यो संख्या २१२ रहेको मा २०७३/७४ मा २२७ र २०७४/७५मा २५० भन्दा बढी पुगेको नेपाल प्रहरीले जनाएको छ। पीडितमध्ये करिब ८० प्रतिशत महिला छन्।

विदेशमा घरभित्रको काम लगाइदिने, स्थायी बसोबासको व्यवस्था मिलाइदिने, विदेशीसँग विवाह गराइदिने जस्ता प्रलोभन देखाएर महिलाहरूको बेचबिखन हुने गरेको भेटिएको प्रहरीले जनाएको छ। तर देह व्यापारको प्रयोजनका लागि बालिकाहरूको तस्करी भएको भन्ने विषय आफूहरूको अभिलेखमा नरहेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्री बताउँछन्। “साना बालिकाहरूलाई यस किसिमका ‍औषधि सेवन गराएर देह व्यपारमा लगाएको भन्ने उजुरी हामी कहाँ अहिलेसम्म परेको छैन।”

मानव तस्करीको स्वरुप बदलिँदै गएको र यसलाई रोक्न सरकारी निकाय सजग हुनुपर्ने अभियानकर्मीहरू बताउँछन्। यसका लागि बलियो कानून बनाउनुका साथै प्रभावकारी चेतनामूलक कार्यक्रम चलाउनुपर्ने उनीहरूको माग छ।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...