Sunday 1st November 2026

बाग्लुङमा भिषण पहिरो, एकै परिवारका ३ जनाको मृत्यु


तितोपाटी – बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । सोमबार राति साँढे ११ बजे माथिबाट खसेकाे पहिराेले स्थानीय ४० वर्षीय बिष्णुबहादुर घर्तीको घर पुरिदाँ घर्ती, उनकी ३५ वर्षीय श्रीमती बिष्णु घर्ती र ६ महिनाकी छोरी सोनिया खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सूचना पाउनासाथ ईलाका प्रहरी कार्यालय बरेङका सहायक निरिक्षक मंगल नेपालीको नेतृत्वमा गएको उद्दार टोलीले मंगलबार बिहान मात्र शव निकालेको प्रहरी नायब उपरीक्षक विश्वराज सिंह थापाले बताए । खत्रीका दुई छोरी काम बिशेषले जिल्ला बाहिर गएकोले बाँचेका छन् ।

उनीहरुकागाेठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । इलाका प्रहरी कार्यालय बरेङका प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । लुरुङमै अन्य २ घर र ३ गोठ पनि पुरिएका छन् । घटनास्थलमा पुगेर उद्दारको काम गर्न गाउँले र प्रहरीको टोली विभिन्न स्थानमा बाँडिएको वडा नं. २ का अध्यक्ष गुप्तप्रसाद कालाले बताए ।

सोमबार रातीको बर्षाले गलकोट नगरपालिकाको विभिन्न स्थानमा पहिरो खस्दा धेरै क्षति भएको नगर प्रमुख भरत शर्मा गैह्रेले बताए । ‘घटनास्थलमा जाने बाटो पनि छैन,’ गैहैले भने, ‘उद्दारमा खटिएका युवाहरुलाई पनि सास्ती भएको छ ।’ जनप्रतिनिधिहरुलाई पनि टाेलीमा बाँडेर खटाएको उनले बताए ।

पहिरोले मध्यपहाडी लोकमार्गको नरेठाँटीमा सडक बगाएको छ । नरेठाँटी खोलाले आउजाउ गर्न कठिन भएकोले पहिरो पन्छाएर यातायात चलाउने प्रयास भैरहेको छ। खोलाले बहाव परिवर्तन गर्दा दर्जनबढी घरमा क्षति पुगेको छ । पशुचौपायाहरु बगाएको र केही मरेको गैह्रेले टेलिफोनमा बताए ।

हरिचौरमा खोला बढेर आउँदा इलाका प्रहरी कार्यालयको प्रतिक्षालय समेत बगाएको छ । ठाउँठाउँमा खसेका पहिरोले आवतजावतमा समस्या भएको वडा अध्यक्ष बिरजंग भण्डारीले बताए । पहिरो र बाढीले गलकोट–७ को दिपज्योती आधारभूत विद्यालयको मैदान बगाएको छ । बाढी र पहिरोले हरिचौरस्थित कौलेनी टेउवा मोटरबाटो अवरुद्ध भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको University of Florida का अनुसन्धानकर्ताहरूले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर मानिसको कपडा लगाएको तस्बिरलाई नक्कली नग्न तस्बिरमा परिवर्तन गर्ने…

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

प्रतिकृयाहरू
...