Friday 26th April 2024

एउटा पहिरो हटाउन ६ वर्ष, सेनाले जिम्मा लिए पछि ६ महिनामा हटायो पहिरो


दुई जिल्ला जोड्ने सडकमा पहिरो गएको ६ वर्षपछि हटाइएको छ । २०६९ सालमा गएको यो पहिरो देशकै ठूला पहिरोअन्तर्गत पर्दथ्यो । कालीगण्डकी गाउँपालिका–२ मा गएको पहिरो नेपाली सेनाले ६ महिना लगाएर हटाएको छ।

पहिरो हटेपछि शुक्रबारदेखि सडक सुचारु भएको छ। कालिगण्डकी करिडोर जोड्ने स्याङजाको मिर्मीदेखि पाल्पाको रुद्रबेणी सडक लौझा भिरको पहिरोको कारण ६ वर्षदेखि स्थानीयलाई आवतजावतमा अवरुद्ध भएको थियो।

पहिरो हटाउने जिम्मा लिएको नेपाली सेनाले ६ महिनाभित्र नै हस्तान्तरण गर्दा स्थानीय हर्षित बनेका छन्। पटक–पटक अन्य ठेकेदारलाई पहिरो हटाउने र सडक निर्माण गर्ने जिम्मा दिएको ६ वर्षसम्म काम हुन नसकेका कारण सरकारले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो।

२०७४ कार्तिकबाट सेनाले पहिरो पन्छ्याउने कार्य थालनी गरेको बताएको छ। गत शुक्रबार नेपाली सेनाका प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्रीले यस सडकको उद्घाटन गरेका हुन्। सडकको उद्घाटन गर्दै उनले जनताको सेवामा नेपाली सेना प्रत्यक्ष रुपमा जोडिएको बताए। उनले उद्घाटन गरेसँगै यस सडक खण्डले निरन्तरता पाएको छ।

पहिरो ६ सय मिटर चौडाई र ९ सय मिटर लम्बाईको थियो। पहिरो हटाएर सडक सुचारु गर्दा करिब ९ करोड ७२ लाख रुपैयाँ खर्च भएको नेपाली सेनाको सडक निर्माण कार्यदलका अवकाश प्राप्त प्रमुख सेनानी रेश्मिराज भट्टराईले जानकारी दिए।

कठिन भौगोलिक अवस्था र कडा चट्टानयुक्त यस ठाउँमा पहिरो नियन्त्रण गर्न बायो–ईन्जिनियरिङ पद्धतिको प्रयोग गरिएको उपसेनानी शालिग्राम नेपालले बताए।

कठिन काम समय भन्दा पनि छिटो सकिएकोमा अनौठो मान्दै कालीगण्डकी गाउँपालिकाका प्रमुख खिम थापाले अकल्पनीय समयमा निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले विकास निर्माणमा जनतालाई अझ सहयोग गर्नुपर्ने बताए। उनले भने, ‘अब विकास निर्माणमा नेपाली सेनाले निरन्तरता दिनुपर्दछ।’

विकास निर्माणको कामको जिम्मा नेपाली सेनालाई दिन सके देशले छिट्टै विकास पाउने उनको भनाई थियो। यसैगरी पूर्व सांसद शंकर पाण्डेले शाह वंशको उद्गम थलो आलमदेवीमा धार्मिक पर्यटनमा यस सडकको महत्वपुर्ण भूमीका रहने उल्लेख गरे।

‘यो सडकखण्ड धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउने पर्यटकका लागि बढी प्रयोग हुन्छ’ उनले भने, ‘सडकका कारण तिर्थालुहरु बीच बाटोबाट नै फर्किने गरेका थिए। मिर्मि हुँदै आउन लामो समय लाग्ने हुदाँ पाल्पाबाट आउने जोकोही पनि यो सडक हुँदै छोटो दुरीमा आउन सकिन्छ। यस सडकका कारण यहाँका बासिन्दालाई पनि प्रत्यक्ष रुपमा फाइदा हुन्छ।’

सो सडक सुचारु भएपछि प्रशिद्ध आलमदेवी मन्दिरको दर्शन गर्न जाने धर्मालम्बीहरुलाई सहज भएको छ। छोटो दुरीको रुपमा रहेको यो सडक खण्डमा पाल्पा र स्याङजामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकनको लागि पर्यटकहरु नियमित आउने गर्दछन्।
पाल्पाको सत्यवति गाउँपालिका र स्याङजाको कालिगण्डकी गाउँपालिकाका जनतालाई प्रत्यक्ष सुविधा पुगेको छ। ६ वर्षको अन्तरालमा सडक सुचारु हुदाँ यहाँका स्थानीय निकै हर्षित भएको बताउँछन्।

स्थानीय मिना पाण्डे भन्छिन्, ‘यस्तो जोखिम पहिरो हटाएर सडक सुचारु होला भन्ने आश समेत थिएन। यो बाटो हिड्दापनि डर लाग्थ्यो। लामो समयपछि गाडी आएकाले होला गाउँ नै उज्यालो भएको छ। अब हामीले धेरै कुरामा सुविधा पाउनेछौँ। ’

६ वर्षपछि गाडी सुचारु हुँदा यहाँका बासिन्दा बस हेर्नको लागि सडकमा नै झुमिएका थिए। फूलमाला लगाएर स्वागत गरेका थिए। यस सडक खण्डको सञ्चालन पश्चात् कालिगण्डकी करिडोरसँग यहाँका सर्वसाधरण प्रत्यक्ष आवतजावतमा जोडिने छन्।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...