Sunday 24th November 2024

मृत महिलाको गर्भाशय प्रयोग गरेर पनि बच्चा जन्मियो !


तितोपाटी – कुनै व्यक्तिको मृत्यु भएपछि उसका अंगलाई जिउँदा व्यक्तिहरुको शरिरमा प्रत्यारोपण गरिनु निकै सामान्य कुरा हो । तर मृत महिलाको गर्भाशय जिउँदो महिलामा प्रत्यारोपण गरिएको यो संसारकै पहिलो घटना हो । यतिमात्र होइन, यो गर्भाशय लिने महिलाले एक स्वस्थ छोरीलाई समेत जन्म दिएकी छिन् ।

ब्राजिलको साओ पालो शहरमा सन् २०१६ मा मृत महिलाको शरिरबाट गर्भाशय निकालेर अहिले आमा बनेकी महिलाको शरिरमा प्रत्यारोपण गरिएको थियो ।  १० घण्टासम्म चलेको उक्त प्रत्यारोपणपछि ती महिलाको प्रजनन क्षमताको पनि उपचार गरियो । यसअघि पनि मृत्यु भइसकेका महिलाको गर्भाशय प्रत्यारोपण गर्न कोसिस नगरिएको होइन तर सबै शल्यक्रिया कि त असफल भए  कि महिलाको गर्भपतन भयो ।

कसरी सफल भयो यो शल्यक्रिया ?

जुन महिलाको गर्भाशय लिइयो ती तीन सन्तानकी आमा थिइन् र उनको दिमागमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । यस्तै, गर्भाशय पाउने महिला भने मेयेर–रोकिटान्स्की–होजर सिन्ड्रोमबाट पीडित थिइन् जुन हरेक साढे चार हजार महिलामध्ये एक महिलामा पाइन्छ ।

यस्तो रोग लागेका महिलाको योनी र गर्भाशय सही तरिकाले विकसित हुन पाउँदैन । तर, यी महिलाको ओभरी (अण्डाशय) भने ठिक थियो । डाक्टरले आमा बनेकी महिलाको शरिरबाट अण्डा निकालेपछि त्यसलाई पिता बन्ने व्यक्तिको शुक्रकिटसँग फर्टिलाइज (निषेचन) गराए ।

त्यसपछि महिलालाई यस्तो औषधी दिइयो जसले उनको रोग प्रतिरोधी क्षमतालाई कम गर्दथ्यो । रोग प्रतिरोधी क्षमता राम्रो हुँदा उनको गर्भाशय शरिरमा राम्रो तरिकाले व्यवस्थित गराउन बाधा उत्पन्न हुनसक्थ्यो ।

त्यसको ६ हप्तापछि महिलाको महिनावारी सुरु भयो । त्यसपछि सात महिनापछि फर्टिलाइज्ड अण्डालाई महिलाको गर्भाशयमा राखियो । र सन् २०१७ डिसेम्बर १५ तारिखमा गर्भाशय पाउने महिलाले शल्यक्रियामार्फत २.६ किलोग्रामकी स्वस्थ बालिकालाई जन्म दिइन् ।

लण्डनस्थित इन्पेरियल कलेजसँग सम्बन्धित डा. सरदजान सासोले यो उपलब्धि निकै उत्साहजनक भएको बताए । उनी भन्छन्, ‘यसपछि अब सम्भावित दानकर्ताको संख्या बढनेछ र यसमा खर्च पनि कम हुनेछ । यसले जीवित व्यक्तिको गर्भाशय प्रत्यारोपणको क्रममा आउने जोखिमबाट बचाउन सहयोग गर्नेछ । ’


सम्बन्धित शीर्षकहरु

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन,…

- हिजबुल्लाह लडाकुहरू र इजरायली सेनाहरू प्रमुख दक्षिणी लेबनान सहर खियाम र तटीय बयादा क्षेत्रमा इजरायली सेनाले भूमि प्राप्त गर्ने…

बालकृष्ण घिमिरे , बनेपा काभ्रे - जागरण सभामा देश विकासका योजना आउलान , युवाहरुलाई खाडी जानबाट रोक्ने नीतिगत धाराणा सार्वजनिक होलान…

प्रतिकृयाहरू
...