Sunday 18th January 2026

जीबी रोडबाट उद्दार गरिएका ८ नेपाली महिला दूताबासकै लापरबाहीले बेपत्ता


तीतोपाटी-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउन नसकिरहेको अवस्थामा दिल्लीको वेश्यालयबाट उद्दार गरिएका ८ जना नेपाली किशोरीहरुलाई जोगाउन राज्यको महत्वपूर्ण निकाय नै  विफल भएको छ।

भारतस्थित नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडको कालकोठरीबाट उद्दार गरिएका ८ नेपाली किशोरीहरु बेपत्ता भएका हुन्।

घर पुर्याइदिन भन्दै करिब १ वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली किशोरीहरुसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा बेपत्ता भएका हुन्।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये ३ जना नुवाकोटका, २ जना काभ्रेका तथा तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोक १–१ जना रहेका छन्।

घटनाको जानकारी पाउने बित्तिकै दिल्ली महिला आयोगले यसको जानकारी दिल्लीका उपमुख्यमन्त्री मनिष सिसौदियालाई दिएको थियो।

घटनामा कारबाही गर्दै सिसौदियाले उत्तर–पूर्व जिल्लाका महिला र बाल विकास विभागका अधिकारी र आश्रमका अधिक्षकलाई पदबाट बर्खास्त गरेका छन्। घटनाबारे जीटीबी एन्कलेव पुलिसले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

त्यसैगरी, दिल्ली महिला आयोगले आश्रमका अधिकारीहरुको मिलेमतोमा वेश्यालय सञ्चालकले किशोरीहरुको अपहरण गरेको हुनसक्ने उल्लेख गर्दै विस्तृत अनुसन्धानको माग गरेको छ।

बेपत्ता हुनुमा को दोषी?

किशोरीहरु बेपत्ता हुनुमा सबैभन्दा ठूलो कमजोरी संस्कार आश्रमको व्यवस्थापन र सुरक्षामा कमी भएको बताइएको छ। आश्रमकी एक पूर्व सिडब्ल्युसी सदस्यले यसअघि पनि आश्रमको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन्।

उनले आश्रमका कर्मचारीहरुमा संवेदनशीलताको कमी, किशोरीहरुसँग अनुचित व्यवहार गर्ने गरेको र त्यहाँ सुरक्षा व्यवस्था पनि फितलो भएको आरोप लगाएकी थिइन्।

त्यसैगरी, यो मुद्दा हेरिरहेको मानव बेचविखनविरुद्ध काम गर्ने संस्था शक्ति समूहका प्रतिनिधि प्रमोद पोखरेलका अनुसार आश्रममा रहेका नेपाली किशोरीहरुले छिटो घर फिर्ता पठाउन भनिरहेका थिए।

भर्खरै गएको भाइटीकामा नेपाल जान नपाएपछि आफुलाई भाइटीका लगाउन किशोरीहरुले भनेको, तर आफुले आग्रह गर्दा पनि आश्रमले भेट्न अनुमति नदिएको पोखरेलले बताएका छन्।

त्यसैगरी, दूताबासलाई पनि पत्राचार गरी नेपाल फिर्ताका लागि वातावरण मिलाउन अनुरोध गर्दा पनि मौन बसेको पोखरेलले देश सञ्चारलाई जनाएका छन्।

राजदूताबासको गैरजिम्मेवारी

नेपाली किशोरीहरुको उद्दार गरिएपछि बाल कल्याण समितिले १४ डिसेम्बर २०१७ का दिन उनीहरुलाई परिवारमा भेटाउनका लागि पहल गर्ने जनाउँदै दिल्लीस्थित नेपाली राजदूताबासलाई लिखित पत्र नै पठाएको थियो।

त्यसबाहेक नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आश्रममा रहेका नेपाली किशोरीहरुको ठेगाना थाहा भइसकेको जानकारी गराउँदै १७ श्रावण २०७५ का दिन दिल्लीस्थित नेपाली दूताबासलाई पत्र काटेर घर फिर्ताका लागि पहल गर्न भनेको थियो।

तर, उनीहरुको ठेगानाका बारेमा स्थलगत जानकारी हुँदा पनि घर पठाउनमा पहलकदमी नगरेकोमा नेपाली दूताबासको गैरजिम्मेवारी देखिएको उद्दारमा संलग्नहरुको आरोप छ।

घटनापछि कार्यवाहक राजदूत भरतकुमार रेग्मीलाई सम्पर्क गर्दा उनले घटनाबारे अनभिज्ञ भएको जनाउँदै ‘बुझेर जानकारी दिने’ जस्तो गैरजिम्मेवार जवाफ दिए।

उद्दार गरिएको १ वर्षका दौरान प्रक्रिया पुर्याएर नेपाल फर्काउन नेपाली दूताबासले लापरबाही गरेकाले किशोरीहरु भाग्न विवश भएको हुनसक्ने मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाका प्रतिनिधिहरुको बुझाइ छ।

कहिले गरिएको थियो उद्दार?

राज्यमा व्याप्त गरिबी, बेरोजगारी र विभिन्न किसिमका प्रलोभनमा परी काठमाडौँ नजिकैदेखि देहातका गाउँसम्मबाट नेपाली किशोरी दिदीबहिनी विदेशका वेश्यालयमा पुग्न बाध्य छन्।

यस्तै विभिन्न बहानामा ल्याइएका कम उमेरका किशोरीहरु जीबी रोडका कोठा नम्बर ६४ र ५६ मा रहेको जानकारी पाइएपछि दिल्ली महिला आयोगले अपराध शाखाको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ मा दिन २ पटक छापा हानेर १७ जनाको उद्दार गरेको थियो।

त्यसमध्ये १४ जना नेपाली किशोरी थिए। उनीहरुलाई उद्दार गरिएपछि उनीहरुको आफन्तलाई बुझाउनका लागि तत्कालका सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाँया कम्प्लेक्स) मा राखिएको थियो।

त्यसपछि उनीहरुलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो। त्यस दौरान क्याटेलिस्ट आश्रय गृहबाट नै ४ किशोरीहरु बेपत्ता भएका थिए। उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन।

बाँकी रहेका १० जना मध्ये २ जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो। ८ किशोरीहरुलाई गत ४ मे २०१८ देखि संस्कार आश्रममा पठाइएको थियो। गत १ डिसेम्बरको रातदेखि उनीहरु बेपत्ता भएका हुन्।

साभार देशसंचार


सम्बन्धित शीर्षकहरु

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई स्वीकार गर्ने निर्णय गरेको छ । सो…

प्रतिकृयाहरू
...