Monday 26th October 2026

पाकिस्तानको सर्वोच्च अदालतद्वारा भारतीय फिल्म र टिभी सो माथि प्रतिबन्ध


तितोपाटी – पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्।

पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ। पाकिस्तानको सञ्चार माध्यम नियामक प्राधिकरण (पेमरा) का एक अधिकारीले प्रधान न्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिए। यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुनेछ।

पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिएका छन्। “सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउनु समाधान होइन, बरु हामीले गुणस्तरीय पाकिस्तानी सामग्री उत्पादनमा ध्यान दिन सक्नु पर्दछ।” सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रमहरुमाथिका प्रतिबन्ध फुकुवा गरेको थियो। विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाब बढेसँगै अक्टोबर २०१६ मा अधिकारीहरुले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए।


सम्बन्धित शीर्षकहरु

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

यमनी हुथी विद्रोहीहरूको आक्रमणका कारण बन्द भएको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि पुनः सञ्चालनमा आएको…

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

प्रतिकृयाहरू
...