Friday 31st July 2026

वडाअध्यक्षले नै भारतीय नागरिकलार्इ नेपाली नागरिकता उपलब्ध गराउन लागेपछि…


तितोपाटी – नक्कली बावु बनेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने वडाध्यक्ष सहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का बिन्देश्वरी यादवसहित चार जनाविरुद्ध मंगलबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।नागरिकता बेच्न खोजेको आरोप लगाउँदै स्थानीय कप्लेश्वर यादवले सोही वडाका वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बुवा बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय नागरिक राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१४ का विन्देश्वरी यादवलाई बुवा र लक्ष्मीदेवी यादवलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने सम्पूर्ण तयारी पूरा भइसकेकोले संलग्न चारजनालाई नेपाल नागरिकता ऐन २०६३ अनुसार कारबाही गर्न भन्दै निवेदकले माग गरेका छन् ।

कप्लेश्वरले वडाअध्यक्ष र सचिवले पैसाको प्रलोभनमा परी किर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत वडा नम्बर ३ निवासी बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवको नाममा नागरिकता दिने तयारी गरेको आरोप लगाउँदै उजुरी गरेका हुन् ।

उजुरीका साथ नक्कली नागरिकता दिन गत साउन १३ गते वडा कार्यालयमार्फत तयार गरिएको जन्मदर्ताको प्रमाणपत्र तथा नागरिकता प्रमाण पत्रका लागि असोज ७ गते सिफारिस गरिएको अनुसूची फारमको नक्कल र नक्कली बुवा बन्ने बिन्देश्वरी यादवको नागरिकताको प्रतिलिपी प्रमाणका रुपमा पेश गरिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकता जारी भइनसकेकोले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए नागरिकता जारी नगर्न कर्मचारीलाई निर्देशन दिएको बताए ।

निवेदक कप्लेश्वरले जिल्ला प्रशासन कार्यालयलाई दिएको उजुरीको बोधार्थ गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वाञ्चल सम्पर्क कार्यालय इटहरी र हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा समेत दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले मंगलबार अमेरिकी सैन्य बलमाथि भएको भनिएको ब्यालेस्टिक मिसाइल आक्रमणको प्रयासको जवाफस्वरूप इरानका विभिन्न सैन्य…

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

प्रतिकृयाहरू
...