Tuesday 13th October 2026

ओमानमाथि नेपालको शानदार जित, विश्वकप लिग–२ मा ११३ रनले विजयी


आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। जवाफमा लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ५० बल सामना गर्दै तीन छक्का प्रहार गरे। अन्तिमतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडे। एक छक्का र चार चौका प्रहार गरेका करण रनआउट भएका थिए।

ओपनर अर्जुन कुमालले ५९ बलमा चार चौकासहित ४० रन बनाए। डा. ईशान पाण्डे र बसिर अहमदले समान ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२, सन्दीप जोराले १० र आशिफ शेखले चार रन जोडे। नन्दन यादव सात रनमा अविजित रहे।

ओमानका बलरमध्ये शाह फैसल, सकिल अहमद र करन सोनावलेले समान दुई-दुई विकेट लिए भने हसनैन शाहले एक विकेट हात पारे।

नेपाली बलरको कसिलो प्रदर्शन

२६४ रनको लक्ष्य पछ्याएको ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे। जय ओडेड्राले ५७ बलमा २५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

ओमानलाई १५० रनमै समेट्न नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले समान तीन-तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पार्दा करण केसी र ललित राजवंशीले समान एक-एक विकेट लिए।

यससँगै नेपालले ओमानलाई उसकै घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गर्दै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा महत्वपूर्ण जित हात पारेको छ।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...