Tuesday 10th March 2026

सामाजिक अभियन्ता सञ्जेलको प्रगतिशील विहे, समाजलार्इ सन्देश दिने उद्देश्य


तितोपाटी – शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा बिहे गरेका छन् । उनले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् । सामाजिक अभियन्ता सञ्जेल र अधिकारीले अत्यन्तै कम खर्चमा बिहे गरेर फजुलखर्चीहरुलाई चुनौती दिएका छन् । बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता-सुरुवालमा घुम्टो ओढेकी थिइन् । बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए । दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् ।

राजधानीको गुहेश्वरी मन्दिरमा सोमबार बिहान एउटा सानो चहलपहल थियो । रातो कुर्ता सुरुवाल लगाएकी एउटी युवती लजाउँदै यताउता गरिरहेकी थिइन् । अर्कातिर तिलचामले कपाल भएका हँसिला पुरुष पनि त्यहाँ सरसामान जुटाउन जुटिरहेका थिए । र, उनीहरुका साथमा थिए, करिब १० जनाको संख्यामा देशका सेलिब्रेटी, कलाकार र केही पत्रकार । थोरै संख्याका मानिसबीच त्यहाँबाट कसैले दाम्पत्य जीवन सुरु गर्दैछ भन्ने ठम्याउन पनि मुश्किल हुन्थ्यो ।

गुहेश्वरी मन्दिरमा करिब १० जनाको स‌ंख्याका इष्टमित्र र साथीभाइलाई साक्षी राखेर साधरण धार्मिक प्रक्रिया पुरा गर्दै एक जोडी दाम्पत्य जीवनमा जोडिँदैथियो । यसरी लगनगाँठो कस्ने तयारीमा जुटेका बेहुला थिए समता स्कुलमा सय रुपैयाँमै गरिब बालबालिकालाई पढाउँदै आएका उत्तम सञ्जेल ।

अनि उनीसँग लगनगाँठो कस्न तम्तयार भएर पुगेकी थिइन् सुन्दरीजलकी कला अधिकारी । रातो कुर्ता सुरुवालमा सजिएर मन्दिरमा पुगेकी कलालाई देख्दा कसैले पनि उनी नै बेहुली हुन् भन्ने ठम्याउन सक्दैनथियो केबल उनलाई चिन्ने बाहेक ।

र, जन्तीका रुपमा त्यहाँ उपस्थित थिए नेपालकै एक धनाढ्य तथा सामाजिक अभियन्ता उपेन्द्र महतो । उनीसँगै थिए महजोडी अर्थात् मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । उत्तमको बिहेमा हाँस्य कलाकारहरु मनोज गजुरेल पनि जन्तीका रुपमा सरिक थिए । दुईजना पत्रकारहरु प्रतीक प्रधान र गुणराज लुइँटेल पनि जन्तीका रुपमा उपस्थित थिए त्यहाँ ।

यी केही सेलिब्रेटीबीच बेहुलाको तर्फबाट कलालाई दुलही बनाएर भित्र्याउन सिन्दुर, पोते र सयपत्री फूलको माला किनेर ल्याएका थिए । केटीकातर्फबाट कला कुर्ता सुरुवालमा सजिएर बेहुली एक्लै उपस्थित भइसकेकी थिइन् ।

कलालाई बेहुली बनाएर अन्माउने क्रममा घुम्टोसमेत उत्तमलाई आफन्तले उपहार दिएका थिए । मन्दिरलाई साक्षी राखेर कलालाई सिन्दुर पोते लगाइदिने क्रममा विधि सिकाइदिने काम गरिरहेका थिए महजोडीले ।

गुहेश्वरी मन्दिर अगाडि उभिएरै करिब पाँच मिनेटमा बिहेको सबै विधि पुरा गरियो । त्यहाँ न त जग्गे थियो, न त पण्डित, न त भोजभतेर र उत्सव नै, उत्तमले कलाको सिउँदो सजाउँदा उनका सेलिब्रेटी साथीहरुले ताली पिटेर स्वागत गरेपछि बिहे सकियो ।

रातो कुर्ता सुरुवालमा चिटिक्क सजिएकी कलालाई जीवनसाथी बनाउने क्रममा उत्तमले सिन्दुर किन्दा २५ रुपैयाँ, पोतेमा ७५ रुपैयाँ र सयपत्री फूलको दुइटा मालामा २ सय रुपैयाँ खर्च भएको हिसाब किताब पनि उत्तमले त्यहीँ सुनाए ।

घुम्टो भने उपहारमा आएको भन्दै उत्तमले सिन्दुरबाट सिउँदो सजाएपछि कलालाई लगाइदिए । आधा उमेर एक्लै बिताइसकेका उत्तमले समाजलाई सन्देश दिन साधारण बिहे गरेको हुन।

उत्तमले कलाको सिउँदो सजाइसकेपछि बिहे भोज पनि अहिलेसम्मकै सस्तो थियो । बिहे भोजको व्यवस्था पनि महजोडीले गरेका थिए । भोजस्वरुप महजोडीले किनेर लगेको एक किलोग्राम लड्डु जन्तीलाई बाँडियो ।

‘तडकभडकपूर्ण बिहेले छोरीहरुको अपमान भइरहेको छ । देखासिकी गरेर भड्किलो र तामझामपूर्ण बिहे गर्ने हाम्रो परम्परालाई सन्देश दिन यसरी बिहे गरेको हुँ’, सञ्जेलले सुनाए, ‘देखासिकी प्रथा बन्द हनुपर्छ, धनी गरिबबीचको खाल्डो पनि घटाउन जरुरी छ । दाइजो भनेको छोरी नै हुन् भन्ने सन्देश पनि मैले यो बिहेबाट दिन खोजेको हुँ ।’

तिलचामले कपाल भइसकेका सञ्जेलले उमेर ढल्केपछि बिहे गरेको बारेमा आफ्नै शैलीमा ब्याख्या गरे । ‘समयले तिथी मिति जुराउनुपर्दो रहेछ, ढिलो भएको होइन, जुरेकै यतिबेला हो’, उनले सुनाए, ‘मेरो यो साधारण बिहे समाजका लागि एउटा सन्देश बन्न सक्छ भन्ने मेरो विश्वास पनि हो ।’

डाकिएन आफन्त

उत्तम र कलाको जोडी बाँध्ने क्रममा दुवै पक्षले आफन्त समेत बोलाएनन् । उत्तमका अनुसार परिवारका मान्छे बोलाउँदा लेनदेनको कुरा पनि आउने भएकाले आपसी सहमतिमा वैवाहिक समारोहमा सहभागी नगराइएको हो ।

तीन सय रुपैयाँमै बिहे उत्रिएपछि दुलही पक्षले विवाहमा गर्न चाहेको खर्च समता अस्पतालमा उपचार गरि औषधि किन्न नसक्नेलाई सहयोग गर्ने भएका छन् ।

‘बिहेमा हुने खर्च समता अस्पतालमा उपचार गर्न आएर औषधि किन्न नसक्ने गरिबहरुको सहयोगमा लगाइने कुरा कलाले बताएकी छन्’, उत्तमले भने, ‘दाइजोको रुपमा सिङ्गै छोरी नै पाइसकेकाले मेरोतर्फबाट ससुरालीलाई आभार ब्यक्त गर्दै दाइजोको विकृतिलाई ब्यवहारमै हटाउन आग्रह पनि यहीँबाट गर्दैछु ।’

को हुन् उत्तम सञ्जेल

नवदुलाहा उत्तम सञ्जेल एकजना शिक्षा सेवी हुन् । उनी केबल एक सय रुपैयाँमामा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता पनि हुन् । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका र बंगालदेशमा समता स्कुल खोलेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई शिक्षा अभियानको नेतृत्व उनले गरिरहेका छन् ।

उनीसँग जीवनसाथी बनेकी सुन्दरीजलकी कला अधिकारी पनि यसअघि नै उत्तमको सय रुपैयाँ शिक्षा अभियानमा जोडिएकी युवती हुन् । उनी अहिले केबल एक सय रुपैयाँमै उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत छिन् ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

प्रतिकृयाहरू
...