Friday 20th February 2026

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी


उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् ।

चतुरबहादुर चन्द, अध्यक्ष, नेपाल क्रिकेट संघ (क्यान)
सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ, सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ । उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।

‘सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ,’ अध्यक्ष चन्दले भने, ‘सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।’ नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ ।

बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् । ‘मानसिक रूपमा दबाब पर्नु स्वाभाविक हो, दबाबलाई हटाएर खेलमा केन्द्रित भए टोलीको हकदार हुनेछन्,’ चन्दले भने, ‘उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।’

आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । ५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसवेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए ।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । क्यारेबियन लिग छाडेर लामिछाने आफूमाथि लागेको आरोपमाथि अनुसन्धान सहज बनाउन स्वदेश फर्किए । स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । अध्यक्ष चन्दले अदालतको आदेशको सम्मान गर्ने र लामिछाने अन्यायमा पर्न नहुने धारणा रहेको बताए । ‘अदालतको आदेशलाई सम्मान गर्छाैँ । सन्दीप अन्यायमा पर्नुहुँदैन, न्याय पाउनुपर्छ भन्ने क्यानको धारणा हो । बाहिर बसेर सन्दीपले न्यायका लागि लड्न पाउने हुँदा अन्तिममा पनि न्याय हुनेछ भन्ने विश्वासमा छौँ,’ चन्दले भने ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...