गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन आगामी मार्च २२ तारिक मंगलबारदेखि २५ तरिक शुक्रबारसम्म काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यति होटलमा हुने भएको छ ।
गैर आवासीय नेपली संघ अन्तर्राष्ट्रीय परिषदको कार्यकाल गत अक्टोबर २०२१ मै समाप्त भइ दशौ अन्तर्राष्ट्रीय महाधिवेशन हुनुपर्नेमा राष्ट्रीय समितिका अधिवेशन तथा सदस्यता सम्बन्धी विवाद चुलिएर गए पछि एनआरएन भित्रैबाट नेपाल सरकार परराष्ट्र मन्त्रालय र अदालतसम्म पुगेर एनआरएनको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन हुन नसकेपछि ४० भन्दा बढी राष्ट्रीय समितिहरूको आग्रहमा तत्कालिन आइसीसीले एनआरएनको दशौं अन्तर्राष्ट्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मा संरक्षक परिषदलाइ दिइएकोमा सोही बमोजिय यो महाधिवेशन हुन लागेको हो ।
यस बिचमा एनआरएनए आइसीसीको संस्थापन पक्षले छुट्टै निर्वाचन समिति बनाएर उम्मेदवारी सार्वजनिक गरि निर्वाचन कार्यक्रम पनि घोषणा गरेको छ भने संरक्षक परिषदले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना गरि महाधिवेशनले दिएको म्यान्डेट अनुसार अघि बढ्न सकिने जनाउँदै सबैलाइ एक भएर अघि बढ्न आग्रह गरेको छ ।
प्रमुख संरक्षक शेष घलेले आह्वान गरेको तयारी समितिमा आइसीसीका पदाधिकारी, सदस्य, एनसीसीका सबै अध्यक्षहरु सदस्यमा छन् । महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको आयोजकले जनाएका छन् ।
आइसीसीको चुनावमा भाग लिन निर्वाचन समितिले ग-यो आग्रह
संघका प्रमुख संरक्षक शेष घलेले गठन गरेको निर्वाचन समितिले निर्धारित समयमा नै स्वच्छ तथा निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न आफ्ना गतिविधिहरुलाई तीव्र गतिमा अगाडी बढाइ रहेको जनाएको छ। समितिले गैरआवासीय नेपाली संघको विधान २००३ अनुसार निर्वाचनको आचारसंहितालाई विधिवत र सम्मानित तवरले पालन गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको निर्वाचनमा सरिक हुन महाधिवेशन प्रतिनिधिहरु, उम्मेदवारहरु र संबद्ध सबैलाई अनुरोध पनि गरेको छ।
प्रमुख संरक्षक शेष घलेले जारी गरेको सन्देश जस्ताको तस्तैः
गैरआवासीय नेपाली साथीहरु,
नमस्कार !
तपाईं हाम्रो रगत–पसिना सिञ्चेर बनेको गैरआवासीय नेपाली संघ अहिले आएर गम्भीर संकटको मोडमा उभिएको छ । समाज र मातृभूमिलाई केही योगदान गर्न बनेको यो संस्थामा पछिल्ला वर्षहरुमा देखिएका विकृति र विसंगतिप्रति हामी सबै जानकार नै छौं ।
गैरआवासीय नेपाली संघको सदस्यता र महाधिवेशन प्रतिनिधि छनौटमा वर्तमान कार्यसमितिले अन्याय गरेको भन्दै संसारभरका ४० बढी देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरूले गरेको निरन्तरको विरोध र गुनासोलाई वर्तमान नेतृत्वले बेवास्ता गरी विधान विपरित छानिएका महाधिवेशन प्रतिनिधिका भरमा एकपक्षीय चुनाव घोषणा गरिएको छ ।
संस्थाको एकता र प्रतिष्ठालाई कायम राख्दै विवाद समाधानका लागि पूर्व अध्यक्षको हैसियतले हामीले निरन्तर कोसिस ग-यौं । विवाद समाधान गरी यथासक्य चाँडो दशौं महाधिवेशन हुन सकोस् भन्ने मनसायका साथ संघले हालै गठन गरेको ‘विवाद समाधान उच्चस्तरीय समिति’ मार्फत् काम गरी विवाद समाधानका उपायहरु पेश गरेको यहाँहरुलाई जानकारी नै छ ।
यसै सिलसिलामा गत २ मार्च २०२२ मा बसेको संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरुको बैठकले दिएको म्यान्डेट र संघको विधान २००३ (संशोधन सहित २०२१) को दफा १६.१.४ ले दिएको अधिकार प्रयोग गरी मैले काठमाडौँमा यहि २२-२५ मार्चमा संघको दशौँ महाधिवेशन बोलाएको छु। संघलाई एकजुट बनाउन र नयाँ दिशा तथा गति दिन उक्त महाधिवेशनमा सक्रिय रुपमा सहभागी भै दिनु हुन म सबै साथीहरुलाई हार्दिक अपिल गर्दछु।
शेष घले, पूर्व अध्यक्ष
तथा प्रमुख संरक्षक गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद