तीतोपाटी – नियमित अभ्यासकाे सिलसिलामा सङ्कलन गरिएका “आणविक हतियार” विषयमा सिर्जना गरिएका अठार जना सर्जकका टुक्काहरू यहाँ प्रस्तुत गरिएको छ ।
१.
गर्दैन भलाे आणविक हतियार तैपनि बनिन्छन् ,
मानवबाटै मानवका खातिर किन यहाँ खनिन्छन् ?
२
अकालमा ज्यान लिएर छाड्ने हतियार चाहिँदैन,
सिंगार्नुपर्छ याे बुद्धकाे भूमि मार्न काेही पाईंदैन ।
३
आणविक हतियार निर्मुल पारी विज्ञान बचाऔं ,
बोकेर विवेक मस्तिष्कमा सदा विश्वलाई सजाऔं ।
✍️ त्रिलोचन भण्डारी, मेचीनगर, झापा
१.
आणविक हतियारले तर्साउँछ,
घमण्डी दुस्मनको आँसु बर्साउँछ ।
२.
देख्दा सातो ,लाग्दा ज्यान जान्छ,
बर्षौ भोकोले जसरी खान्छ ।
३.
बुद्धि विवेक हुनेको रैछ विज्ञान,
क्षमता भएकैले बनाउँछ यान ।
✍️ रिजाल विनोद, बेलबारी २
१.
बन्द गर हतियारको दम्भ देखाउन,
सक्छौ भने शान्ति छरेर नाम लेखाउन।
२.
आणविक हतियार विश्व विनासको बाटो,
स्कूल खोलौं पार्क बनाउँ बरू यसको साटो ।
✍️ इन्दिरा देवकोटा, कपिलवस्तु न.पा .३
१.
कसलाई भनूँ के, पछि लाग्छन् आणविक हतियारको,
यथार्थ कुरा क्यै नबुझी, उद्देश्य अनि मानवीय सारको ।
२.
आणविक हतियार बनाउनेले के सोचले बनाए,
प्रयोग गर्नेले आफूलाई खुँखार अपराधी जनाए ।
✍️ रचना शर्मा प्रतीक्षा, महालक्ष्मी न. पा. ललितपुर ।
१.
धेरै मात्यो मनुवा खै छैन निको चाल,
प्रदर्शन गर्न शक्ति जुट्छ हर साल ।
२.
आणविक हतियार पार्छ विश्व नष्ट,
जानीजानी गर्छ मान्छे छैन कुनै कष्ट ।
३.
दया क्षमा जान्दैन कठोर हतियार,
उद्यत छन् घमण्डले सारा मतियार ।
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
१.
ए आणविक हतियारधारी बिनासकारी,
नलाग कुबुद्धिमा गिदीमा तिम्रो कीरापारी।
२.
विश्व़लाई शान्तिको जगमा उभिन राम्रो देऊ,
छाड गती मती अगती दूर्गतीहरू नलेऊ।
✍️ होम प्रसाद न्याैपाने, धरान, सुनसरी
१.
समवेदना अनि दया-प्रेम साँच,
घातक अस्त्र र सस्त्र नछोई बाँच।
२.
सुनेर तिमीलाई लाग्ला नराम्रो,
हतियारले भलो गर्दैन हाम्रो।
३.
दया बोकि हिडौँ अस्त्र-शस्त्र छोडौँ,
मानव सबैलाई मायाले जोडौँ।
✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ्ग।
१.
सामाजिक प्राणी मान्छेलाई आणविक हतियार,
समय विनासकारी मात्र निम्ताउँछ बारबार।
२.
सचेत हुन जरूरी छ बच्चादेखि सबै वर्गमा,
व्यवस्थापन नभए पुर्याउँछ स्वर्ग कि नर्कमा।
३.
कर्तव्य सरकारको भए नि भूमिका जनताको,
नर संहारबाट जोगिने सायद चाह साराको।
✍️ म्यामराज राई,भोजपुर, हाल:-प्रवास
१.
ध्वस्त हुनसक्दछ प्रकृति र भाैतिक पुर्वाधार ,
अन्धाधुन्ध प्रयाेग गरेमा आणविक हतियार ।
२.
बन्धक बनाई मानवजाती विकास हुन्छ भन्दा ,
चलाउँदैछन् यहाँ विनासकारी आतङ्ककाे धन्दा ।
३.
पहिचान र स्रोत मेटाएर विकास हुने ठान्दा ,
यूगाैसम्म भाेग्न पर्याे असर आणविकले हान्दा ।
✍️ रामकृष्ण दुवाडी, पाेखरा
१.
सुन्दर शान्त संसार माथि धावा बोलेर,
घातक हुनेछ आणविक भट्टी खोलेर।
२.
बालक बृद्धा कोही पनि रहने छैनन् चोखो,
बिनासकारी हतियारले पुरा हुन्न धोको।
३.
गर्नुपर्छ आणविक हतियारको नष्ट,
दुबिधा हुनु हुन्न कुरा चाहिँ होस प्रष्ट।
४.
डर त्रासमा बाँच्नु भन्दा नबाँचेकै वेस,
सबैको आवश्यकता हो समृद्धिको देश।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती-३, काभ्रे
१.
संसारभरि युद्धनीति होइन बुद्धनीति चाहन्छ हिया,
आणविक हतियारले धर्ती माताको कलेजा छियाछिया ।
२.
आणविक हतियारकै कारण यहाँ मानवता हरायो,
मानिसलाई शक्तिसङ्घर्षले आज युद्धपिपासु गरायो ।
३.
शक्ति प्रदर्शनको उन्मादले बन्छन् आणविक हात हतियार,
बालेर युद्धको आगो भेटिन्न शान्ति फैलाऊ जगभर पियार।
✍️ श्रीकृष्ण शर्मा, पोखरा
१.
गाेली बारुद आणविक हतियार छाेडाैं,
शान्तिकाे बिगुल फुकी दुनियाँलाई माेडाैं ।
२.
आणविक हतियार घातक हाे बुझाैं हामी मानवले,
लडाइँ झगडा अशान्ति मच्चाउने मात्र हो दानवले।
३.
प्राण सबकाे एउटै हाे हतियार उठाइ हिंसा गर्नु किन?
मै हुँ भन्नेले पनि शुन्यतामा विलीन हुनु नै छ एकदिन।
✍️ ताराप्रसाद चापागाईं, धुनिबेशी
१.
भन्थे उनी बिनासकाले विपरित बुद्धि,
हतियारधारीकाे खै कैले सप्रिन्छ शुद्धि ।
२.
हतियार हाेइन है कलम चलाऊ,
चहराएकाे घाउमा मलम लगाऊ ।
३.
हतियारले बनाउँछ सबैलाई ध्वस्त भ्रष्ट,
हतियारधारीकाे जिन्दगानी अति दुख कष्ट ।
✍️ लक्ष्मी घिमिरे दहाल, दमक-७ झापा
१.
आणविक हतियार देख्दै मन तर्साउँछ,
लडाइँको मैदानमा गयो गोली बर्साउँछ ।
२.
नबुझी होमिदा कतिपयको ज्यान जान्छ,
बर्से हतियार हेर्दा हेर्दै कती ध्यान तान्छ।
✍️ दुर्गा आचार्य, मोरङ्ग
१•
हिरोसिमा र नागासाकी तिर हेर,
आणविक हतियारले पिर्यो धेर।
२•
छिन भरि तहस नहस पार्छ दुनियाॅलाई,
लाखौँ ज्यानको एकै चिहान पानी भन्न नपाई।
३•
जीव जन्तु वन जंगल सबको नास,
ठूला ठूला शहरको हुन्छ उठिबास।
✍️ घनश्याम पौडेल, सृजना चोक, पोखरा
१.
बम बारुदको शहरमा पसेका उनी,
आजसम्म नफर्किँदा को छन् भन नरुनी?
२.
सयौँ वर्ष बित्यो हिरोसिमाले एक युवा पर्खेको,
बमले नै हो जीवन मासेको अनि माटो चर्केको।
३.
न उब्जिन्छन् अन्न न रसाउँछ माटो,
कुन बम छोड्यौ? अमृतको साटो।
✍️ पौडेल विमुन्स, पाेखरा
१.
आणविक हतियारले तर्सिन्छ मेरो मन,
लडाइँ गर्नु हुन्न बितेर जान्छ जीउधन।
२.
देशलाई अशान्ति बनाउँदै लडेका कति,
परिवर्तन भएनन् जनताले चाहे जति ।
✍️ भगवती दवाडी, दमक, झापा
१.
मानवताको धेरै कुरा संसारभरि हुन्छ,
आणविक हतियारले मानवजाती रुन्छ।
२.
भुइँ तहका जनतालाई चाहिँदैन युद्ध,
बाँच र बँचाऊ भन्ने जन्माउनु पर्छ बुद्ध।
✍️ भूषण जंग, ललितपुर
हाल अष्ट्रेलिया
::::: जय टुक्का! जय साहित्य!! ::::::