Thursday 22nd January 2026

सारथि साहित्य परिवारले चलाइरहेको मुक्तक अभ्यासमा सहभागी १० सर्जकका मुक्तकहरू


१.
भेट हुने दिन कहिल्यै नआएर चेली रुँदैछिन् ।
आँखाबाट चौधारा आँसु बगाएर चेली रुँदैछिन् ।
यता तिज आएर नि नआए झैँ शून्य छ घर
उता आफ्नै माइत आउन नपाएर चेली रुँदैछिन्।
२.
नसोचेर दु:खका दिन हाँसेर नाच चेली ।
आफू’नि अरूले झैँ खुसी बाँडेर नाच चेली ।
अर्को साल रमाउन नपाइन पनि सक्छ
यसपाली मज्जाले कम्मर भाँचेर नाच चेली।
✍️हिमाल सापकोटा-बाग्लुङ

३.
टाढा भएँ बर्ष दिनमा एकफेर आएकी छु ।
दु:ख पीडा पीर मर्का भुलेर आएकी छु ।
दिए पनि मेरा बाबा त्यो बिरानो ठाउँमा
तिजको बेला दरखान सम्झेर आएकी छु।
४.
हाँसौं खेलौं साथी हो रमाएर मनाऔं ।
मनभित्रका डर त्रास भगाएर मनाऔं ।
बर्ष दिनको यो तिज तडकभडक नगरी
राम्रो सन्देश समाजमा जनाएर मनाऔं।
✍️बासु सापकोटा-दोलखा

 

५.
दु:ख बिर्सेर, टन्न खाएर चेली रमाउने हो ।
वर्ष दिनमा गीत गाएर चेली रमाउने हो ।
एक दुई दिन केलाई लिनु पिर र चिन्ता
आमा सङ्ग कुरा बताएर चेली रमाउने हो।
६.
ए दिदी आउनुस् तीजमा हाँसेर नै बस्ने हो ।
जे पर्छ , त्यही टर्छ भनी , आँटेर नै बस्ने हो ।
अर्को साल कुनै कारणले रोकिन पनि सक्छ
एकार्काका दु:ख अनि सुख बाँडेर नै बस्ने हो।
✍️प्रेम थापा “मन”-बागलुङ

७.
मनमा पिडा साँचेर तिज मनायौँ ।
भित्र दर्द बाहिर हाँसेर तिज मनायौँ ।
बाटो छेक्यो कोरोना र बाढीपहिरोले
आमाको याद दिलमा राखेर तिज मनायौँ।
८.
कति दिदीबहिनीलाई हँसाएर जान्छ तिज ।
निकै हर्ष र उमङ्ग सङ्गै नचाएर जान्छ तिज ।
जन्म दिने आमा बाबा गुमाएकी चेलीलाई
सम्झनामा सधैं मन रुवाएर जान्छ तिज।
✍️शोभा कडरिया कोइराला-पाल्पा

९.
शिरमा सिरफुल देखाएर पाउमा पाउजु देखाएर ।
धोको फेरि नाच्न मन छ माइती को आँगन आएर ।
आमाले पकाएको दर खाँदै यस पालि तिजमा
भर्दै मासको रिमिझिमे पानीमा रातो सारी उडाएर।
१०.
म आउन पाइन आमा चरी जस्तै उडेर ।
एक फन्को नाच्न मन थियो दुःख पीर भुलेर ।
यसपलि यस्तै भयो अर्को बर्ष भेटैला
एक छिन भानि बोलि सुन्छु आमा फोनै गरेर।
✍️निर्मला बडुवाल-सुर्खेत

११.
रातो सारी पाउको पाउँजु बजाएर मख्खैँ पारीन् ।
साथी सँगी आमा भाउजू जमाएर मख्खै पारीन् ।
पोहोर देखि नाच्न गाउन नपाएर होला
यसपाली त कम्मर भाच्दै गित गाएर मख्खै पारीन्।
१२.
आगनीमा बसेर रुँदै होलिन् मेरी चेली ।
माइती घरलाई सम्झेर रुँदै होलिन् मेरी चेली ।
गाउँघरमा तिज आउदा सबैतिर खुसि छाउदा
निधारमा हात राखेर रुँदै होलिन् मेरी चेली।
✍️खगेन्द्र दुधराज-संखुवासभा

१३.
मुटु हातमा लिएर हिन्नु पर्ने रहेछ शहरमा ।
कोही पसिना कोही इज्जत बेचेछ शहरमा ।
थाहाँ पाउँदा पनि मट्टीतेल ले सिध्याउँछ भन्ने
उ दुश्मन संगै डेरा बसाई सकेछ शहरमा।
१४.
रहेछ बिहेको सुपारी उन्कै हातमा थमाएर आएँ ।
देखेका सबै सपना सीसासरि फुटाएर आएँ ।
थाहा पाएँ पछि तिमी पराईकी भयौं भन्ने कुरा
आज भट्टीमा शरावलाई आफ्नो बनाएर आएँ।
✍️जीवन ढकाल-बाग्लुङ

१५.
सुतेर हैन् चेली उठेर अब ।
छुटेर हैन् चेली जुटेर अब ।
नारी हक-हितको गीतहरु
गाऊँ तीजमा एकफेर अब।
१६.
परिस्थिति जस्तो होस् रमाएर बस्नु पर्छ ।
चाढ-पर्व र रीतिथिति मनाएर बस्नु पर्छ ।
मितव्ययी बनी संस्कार-संस्कृति बचाउँदै
यत्र-तत्र सनातन धर्म फैलाएर बस्नु पर्छ।
✍️अरुण कुमार भुजेल-दार्जिलिङ

१७.
विगत भुली खुसी साटेर मनाउने हो तिज ।
खाइ पिइ गरी हाँसेर मनाउने हो तिज ।
भेटघाट हुँदा हर्षित छन् मेरा चेलीहरू
गीत गाइ बजाई नाचेर मनाउने हो तिज।
१८.
सभ्य संस्कृतिमा तडक भडक देखाएर हुन्न ।
बाबाको आँगन छोडी पार्टी प्यालेस धाएर हुन्न र
पर्व हो मीठो मसिनो खाउ रमाउ चेलीहरु
महिनौँ अघि देखि दरखाने बिकृति फैलाएर हुन्न।
✍️आई.पि. सापकोटा “ईश्वर”-नवलपुर

१९.
अहिलेको तीजमा कम्मर भाँचेर नाचन ।
मनका पिर चिन्ता सबै फ्याँकेर नाचन ।
काेराेनाले गर्दा सबै शोंक मग्न भएका
चेलीबेटी आफ्नो मन शान्त पारेर नाचन।
२०
फेरि अायाे घुम्दै फिर्दै,रमाएर तीजमा ।
दिदी बहिनी जम्मा भइ,दर खाएर तीजमा ।
माइत जान राेक्ने भयाे, कोभिड र पैराेले
तडकभडक नगरी ,मनाएर तीजमा।
✍️देवेन्द्र काेइराला-नवलपुर


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...