Thursday 18th June 2026

जाजरकोट र डोल्पाको ढुवानी अझै पनि खच्चडकै भरमा


तितोपाटी – जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग बढ्न थालेको छ ।

डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् ।

चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । जाजरकोट र रुकुमका विभिन्न बजारबाट दैनिक ४०० खच्चडले डोल्पातर्फ सामान ओसापसार गर्ने गरेको खगेनकोटका पूर्णबहादुर खत्रीले बताउनुभयो । गत वर्ष सरकारले एक वर्षभित्र मोटरबाटो पुर्याउने भने पनि तल्लो डोल्पामा मात्र यातायातका साधनहरु सञ्चालन हुन सकेका छन् । जाजरकोट–दुनै सडक निर्माणमा संलग्न सैनिक कार्यदलले यो वर्षभित्र दुनैमा सडक पुग्ने बताएको छ । यातायातको साधनका रुपमा हवाई सेवा छ तर नियमित तथा भरपर्दो छैन । खच्चडबाट ढुवानी गर्दा भन्दा निकै महँगो पनि पर्ने जुफाल त्रिपुराकोटका रामबहादुर न्यौपानेले बताए ।

“खच्चडले रु ६० प्रतिकिलोमा ढुवानी गर्ने सामान जहाजले १५० लिन्छ,” उनको भनाइ छ । दैनिक घोडा–खच्चडले ढुवानी गर्दा पनि डोल्पामा खाद्यान्न र विकास निर्माण सामग्री अभाव हुने गरेको न्यौपानेको भनाइ छ
जाजरकोटको तल्लुबगरसम्म यातायात सञ्चालन हुने गरेको छ । कच्ची सडक, विभिन्न खोलामा पुल नहुँदा यातायात नियमित बन्न नसक्दा डोल्पा लैजाने सामग्री टाढाको दूरीबाटै खच्चडद्वारा ढुवानी हुने गरेको छ । सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीव्र पारेको छ । वर्षायाम भएका कारण अहिले अधिकांश जाजरकोट सडकखण्ड बन्द भएका छन्
चालु वर्षमा डोल्पा खण्डमा भिर काट्ने कार्य जारी भएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए ।

जाजरकोट र डोल्पामा सडक निर्माण कार्य तीव्र भए पनि वर्षाको कारण सडक भत्किएपछि सबै यातायातका सेवा ठप्प भएको हो । अहिले खच्चडको भरमा ढुवानी कार्य सञ्चालन हुँदै आएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...