Monday 20th July 2026

युटुब ट्रेन्डिङको १ नं. मा “बोल माया”


तितोपाटी – विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।
बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब ट्रेन्डिङ’ को १ नम्बरमा आएको छ ।

सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ । कतार र संयुक्त अरब इमिरेट्समा मा पनि उक्त गीत युट्युब ट्रेन्डिङको धेरै अगाडि आएको छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । “गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ”, सर्जक सपूतले भन्नुभयो, “छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ ।”

विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ । सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उहाँकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ ।

गीतको मर्म र भावलाई भिडियोमा जीवन्त ढङ्गले उतार्न निर्देशकका हिसाबले सपूत सफल देखिनुभएको छ । भिडियो हेर्ने जो कोहीलाई कलाकारको अभिनय र घटनाको प्रस्तुतीकरण नाटकीय लाग्दैन । “यथार्थ र वास्तविकता दिने कोशिश गरेका छौँ”, सर्जक सपूतले भन्नुभयो, “आफ्नै घरगाउँमा छायाङ्कन गरिएकाले पनि धेरै सजिलो भयो ।” भिडियोको छायाङ्कन सपूतकै जन्मथलो बागलुङ धम्जामा गरिएको थियो ।

भिडियोमा मुख्य अभिनय सपूतबाहेक अञ्जली अधिकारी र सीतारे गन्धर्वको छ । सर्जक सपूतलाई धम्जामै यसअघि विदेशमा मृत्यु भई शव आएका दुई घटनाले आफ्नै गाउँमा भिडियो छायाङ्कन गर्न प्रेरित गरेको थियो । “हाम्रै गाउँमा भएका घटनाले पनि गीत निर्माणमा संवेदनशील बनायो”, उहाँले भन्नुभयो, “गीतका कतिपय दृश्य खिंच्न अरुको घरमा असहज थियो ।”

विदेशबाट काठको बाकसमा शव आएको, परिवार र आफन्तजनले रातभर शव कुरेको, शवअघि विक्षिप्त हुँदै श्रीमतीले बिलौना गरेको जस्ता दृश्य भिडियोमा छन् । धन ल्याउने आशामा विदेश गएका श्रीमान्को शव आएपछि श्रीमतीले गर्ने बिलौना नै गीतको केन्द्रीय भावभूमि हो । मर्मस्पर्शी शब्द, संगीत र स्वरसँगै कलाकारको जीवन्त अभिनयले गीतमा प्राण भरेको छ ।

पाश्चात्य गीतसंगीत हावी भइरहेका बेला नेपाली मौलिक लोकगीतका स्रोता र दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाण यस गीतले पेश गरेको छ । पृथ्वी इन्टरटेनमेन्ट र भाका नेपाल प्रालि सहनिर्माता रहेको उक्त गीतको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत शुक्रबार काठमाडौँमा विमोचन गर्नुभएको थियो ।

भिडियो पनि हेर्नुहोसः


सम्बन्धित शीर्षकहरु

इजरायलका केही दक्षिणपन्थी तथा अतिराष्ट्रवादी मन्त्रीहरू हजारौं समर्थकसँग मिलेर गाजाको सीमातर्फ आयोजित मार्चमा सहभागी भएका छन्। प्रदर्शनकारीहरूले सन् २००५ मा…

अमेरिकी विदेशमन्त्री Marco Rubio ले वासिङ्टनमा लेबनानी राष्ट्रपति Joseph Aoun सँग भएको भेटपछि लेबनानले "शान्तितर्फ महत्त्वपूर्ण कदम चालेको" भन्दै त्यसको…

मालीको उत्तरी क्षेत्र अनेफिस नजिक टुआरेग विद्रोही र अल–कायदा सम्बद्ध जिहादी समूहको संयुक्त आक्रमणमा कम्तीमा ५० सैनिक मारिएका छन् भने…

प्रतिकृयाहरू
...