१.
नयाँ मान्छे देखेपछि खुबै हत्ते गर्छन् ।
सेवाग्राही हो भने झन मरिहत्ते गर्छन् ।
रित पुगेको फाइल पनि अड्काउनेहरू
घुस खान पाए मात्र काम फत्ते गर्छन् ।
२.
दन्तलहर देखाएर हिमाल हाँसे मात्र ।
डाँफे मुनाल कस्तुरी र मयुर नाचे मात्र ।
हामी पनि हाँस्न अनि नाच्न गाउन सक्छौँ
स्वर्गभन्दा प्यारो हाम्रो देश बाँचे मात्र ।
३.
जिन्दगी त नाटक न हो प्रदर्शन आफैँ हुने ।
नजाने नि जानेजस्तै प्रहसन आफैँ हुने ।
नट आफैँ नटी आफैँ विदुषक नि आफैैँ
आफ्नो कथा श्रवण आफैं दर्शन आफैं हुने ।
४.
कतै दुनियाँ भोग र विलासमा रमाएको छ ।
कतै दुनियाँ रक्सीको गिलासमा रमाएको छ ।
रोग र शोकले संसार आक्रान्त भए पनि
स्वार्थी दुनियाँ हर्ष र उल्लासमा रमाएको छ ।
५.
निरस भई बाँच्नु भन्दा मर्नु निको हुन्छ ।
फूलले पनि ओइलाएर झर्नु निको हुन्छ ।
तड्पिएर रुञ्चे हाँसो हाँसिराख्नु भन्दा
हाँसीहाँसी आत्महत्या गर्नु निको हुन्छ ।
-विष्णु दाहाल
इनरुवा ५, सुनसरी