Tuesday 20th January 2026

गोम बिक्रमका ४ मुक्तक


मुक्तक -१

यस्तो कुनै समस्या छैन, जसको कतै हलै छैन ।
समस्याबिना संसारमा, जिउनु पनि भलै छैन ।
कायर भइ भाग्ने हैन, लड ! किनारा लाग्ने हैन
तिम्रो मनभन्दा अधिक, शक्तिशाली बलै छैन ।

मुक्तक – २

सुन्नेले आवाज सुनेका छैनन्, जस्तै चित्कार गरून् जनता ।
सोझ्याउँछन् आफ्नै दुनाहरू, बरू भर्सेला परून् जनता ।
आफूले खाए बाँचिन्छ भन्छन्, आफूले लाए ढाकिन्छ भन्छन्
समस्या, अभाव र महामारीले, दिनदहाडै मरून् जनता ।

मुक्तक – ३

समस्या खोजी जनताको, दिमाग घुमाउन चाहन्न कोही ।
जो जो मरून् तर आफ्नाको, मृत्यु चुमाउन चाहन्न कोही ।
सत्ताको डम्फू बजाउनुछ, हिजोका सपना सजाउनुछ
मौकामा चौका नहानेर, कुर्सी गुमाउन चाहन्न कोही ।

मुक्तक – ४

सूचनामा छ शक्ति अनेक, कलम सबतिर डुलाइरहून् ।
ओझल परेका सारा कुरा, खोजेर बागमा फुलाइरहून् ।
निश्पक्षतामा नचुकीकन, सत्य र तथ्यमा नझुकीकन
लुकेछिपेका विकृति सब, चौथो अंगले खुलाइरहून् ।

✍ गोम बिक्रम
कल्लाबारी, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...