तीतोपाटी – जसपा कार्यकारिणी समितिको बहुमत सदस्यहरूको बैठकले राजेन्द्र महतोलाइ संसदीय दलको नेताबाट हटाएको छ भने अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टी निर्णयविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति मध्ये यादव समुहका ३१ जनाको उपस्थितिमा कार्यकारिणी समितिको बैठक बसेको हो । राजेन्द्र महतोलाइ यस अघि नै संसदिय दलको नेताबाट हटाउन ठाकुर र यादव विच सहमति भए पनि ठाकुरले अाले टाले गरेपछि कार्यकारिणी समितिको बैठकले महतोलाइ संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्ष उपेन्द्र यादवसहित शनिबार बसेको बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्षमा पुगी स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ।
ठाकुर–महतो समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिने निर्णय गरेको थियो । त्यस्तै ओलीको कदमलाई साथ दिँदै गठबन्धन गर्ने तयारीसमेत गरिरहेको छ ।