Sunday 16th August 2026

भारतमको छत्तिसगढमा माओवादी आक्रमणमा परि २२ सुरक्षाकर्मीको मृत्यु


तीतोपाटी – भारतको छत्तीसगढ राज्यको विजापुरमा शनिबार माओवादीको आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । साथै ३१ जना सुरक्षाकर्मी घाइते भएका छन् । केही सुरक्षाकर्मीहरू अझै बेपत्ता रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणपछि माओवादीले सुरक्षाकर्मीहरूको हतियार र गोलीगठ्ठासमेत लुकेर लगेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरक्षा फौजले गत शुक्रबार रातिदेखि दक्षिण बस्तरको जंगली क्षेत्रलाई लक्षित गर्दै विभिन्न ५ स्थानबाट अपरेसन सुरु गरेको थियो । त्यही क्रममा सुरक्षाकर्मीहरू सुक्मा–बिजापुर सीमामा सर्च अपरेसनमा रहेकै बेला शनिबार मध्याह्न माओवादीले एक्कासि चारैतिरबाट घेरा हालेर आक्रमण गरेका थिए । बस्तर क्षेत्र माओवादीहरूको पकड क्षेत्रको रूपमा मानिन्छ । त्यहाँ हरेक पटक मुठभेड हुँदा सुरक्षाकर्मीहरूको मृत्यु हुने गरेको छ ।

उक्त क्षेत्रमा ठूलो संख्यामा माओवादीहरू रहेको खुफिया सूचनाका आधारमा सुरक्षा फौजले सर्च अपरेसन सुरु गरेको थियो । सुरक्षा फौज र माओवादीबीच ३ घण्टाभन्दा लामो समयसम्म दोहोरो भिडन्त भएको जनाइएको छ । सुरक्षा फौजले माओवादीतर्फ पनि ठूलो क्षति भएको दाबी गरेको छ । विद्रोहीहरूले घाइते र मृतकहरूलाई तीनवटा ट्र्याक्टरमा लगेको सुरक्षा स्रोतले जनाएको छ ।

घटनाप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द्र, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य नेताहरूले पनि दुःख व्यक्त गरेका छन् । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले ट्वीट गर्दै सुरक्षाकर्मीको बलिदान खेर जान नदिने बताएका छन् । साथै उनले माओवादीविरुद्धको कारबाही थप बलियो पारिने र परिणाममुखी बनाइनेसमेत उल्लेख गरे । घटनाबारे थाहा पाउनासाथ उनी असमको चुनावी कार्यक्रम छोट्याएर दिल्ली फर्केका छन् । त्यसलगत्तै शाहले उच्च सुरक्षा अधिकारीहरूसँग बैठक गरेका थिए । बैठकमा घटनाबारे समीक्षा गर्दै माओवादीविरुद्धको कारबाहीलाई तीव्रता दिने निर्णय भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले रुसको सामारा क्षेत्रमा रहेको TsSKB-Progress अन्तरिक्ष तथा रकेट उत्पादन केन्द्रमा लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति…

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

प्रतिकृयाहरू
...