Tuesday 4th August 2026

विष पिएर गयो तीन आमाछोरीको ज्यान


विष सेवनका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३५ वर्षीया अनिता चौधरीले बुधबार राति छोरीहरू १२ वर्षीया नेहा र १० वर्षीया हेमालाई विष पिलाएर आफूले पनि पिएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए। डीएसपी लामाका अनुसार उनीहरूको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा बिहीबार बिहान मृत्यु भएको हो।

 

उनीहरूलाई सुरुमा पृथ्वीचन्द्र अस्पताल परासी लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि भैरहवा पुर्‍याइएको थियो। बुधबार राति १० बजेपछि चिच्याएको सुनेपछि स्थानीय बासिन्दा उनीहरूको घरको छत हुँदै च्यानल गेटको ताला फोडेर कोठामा पुगेका थिए। स्थानीयले तीनै जनालाई छटपटाइरहेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ। कोठामा दुईवटा गिलासमा पानीजस्तो तरल पदार्थ देखिएकाले त्यसमै विष राखेर छोरीहरूलाई दिएको हुन सक्ने प्रहरीको आशंका छ। उनीहरूले बान्ता गर्ने क्रममा १०–१२ वटा विषका ट्याब्लेट ओकलेको भेटिएको थियो।

अनिताका पति जितेन्द्र वैदेशिक रोजगारीमा छन्। चौधरी दम्पतीका दुई छोरी मात्र थिए। जितेन्द्रका बुवाआमा र दुई भाइ छन्। उनले अंशबण्डा गर्न बुवाआमासँग माग गर्दै आएका थिए। उनी पाँच वर्षदेखि पत्नी र दुई छोरीसहित छुट्टै बस्दै आएको स्थानीय बताउँछन्। बाबुआमाका साथमा दुई भाइ बस्छन्।

वडाध्यक्ष दिनेश सहनीले अनिताले पतिसँगको सल्लाहमै अदालतमा मुद्दा दिएर १२ कठ्ठा जग्गा अंश पाएको खुलाए। सोही जग्गामा जितेन्द्रले घर बनाएर परिवार राखेका थिए। अंश झगडाकै कारण भाइहरू र बाबुआमाको जितेन्द्रको घरमा आउजाउ छैन। ‘जितेन्द्र मिलनसार र सोझा व्यक्ति हुन्। पत्नी र छोरीहरूलाई राम्रैसँग हेर्दै आएका थिए’, वडाध्यक्ष सहनीले भने, ‘कसरी घटना भयो हामी पनि अचम्भित छौं।’ स्थानीयका अनुसार तीन दिनअघि अनिता र उनका देवरबीच सामान्य भनाभन परेको थियो। ‘दिउँसो बाटोमा हिँड्दै गर्दा मसँग रहेका २ जना साथीलाई भाउजूले गाली गर्नुभयो। साथीलाई किन गाली गरेको भनेर सोध्दा उल्टै मसँग झगडा गर्नुभयो। त्यसपछि हामी बाटो लाग्यौं’, अनिताका देवरलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

बिहारको पटनास्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएपछि सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी…

कुवेतस्थित प्रवासी नेपाली मञ्च कुवेत ले आगामी अगस्ट २१, २०२६ मा आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। अधिवेशनमा…

प्रतिकृयाहरू
...