Friday 9th October 2026

कांग्रेसले भन्यो, ‘ओलीले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाए’


 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमार्फत प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई अलोकतान्त्रिक र अधिनायक आकांक्षा भन्दै टिप्पणी गरिएको छ । सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिएका प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको पनि उक्त विज्ञप्तिमा छ । यस्तै सम्मानित र पाका अधिवक्ताको अपमान गरेकोमा पनि कांग्रेसले प्रधानमन्त्रीको आलोचना गरेको छ ।

‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो । प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होइन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैरजिम्मेवार ढंगले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ ।’

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

-गोबिन्द राज ओझा (राजन) कहाँ पुग्ने, कहाँ जाने, बाटोको ठेगान छैन, जीवनको यो अनन्त यात्रामा कुनै विराम छैन। आँखाभित्र सजाएका…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा आफ्ना नियम उल्लंघन गर्ने जहाजमाथि प्रत्येक रात कारबाही भइरहेको दाबी गरेको छ।…

दक्षिण अफ्रिकाका जोहानेसबर्ग नजिकको सोवेटो र पूर्वी तटीय सहर डरबनमा आप्रवासनविरोधी प्रदर्शन हिंसात्मक बनेपछि कम्तीमा २४ वटा सवारीसाधनमा आगजनी गरिएको…

प्रतिकृयाहरू
...