Sunday 1st February 2026

तनहुँको बन्दीपुरमा पनि केबलकार निर्माण गरिने


तितोपाटी – तनहुँको ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको हो ।

ठूलढुंगाबाट बराल चोकसम्म सञ्चालन हुने केबुलकार रू ५६ करोडको लागतमा निर्माण हुने उक्त केबुलकारका अध्यक्ष रहनुभएका उपाध्यायले जानकारी दिए ।

केबुलकारका लागि आर के वी रियल स्टेट एण्ड कन्सट्रक्सनले ७० प्रतिशत र आफूले ३० प्रतिशत लगानी व्यहोर्ने उहाँले बताउनुभयो । एक किमी ६०० मिटर लामो उक्त केबुलकारमा सात वटा टावर रहनेछन् । केबुल कार निर्माणका लागि जग्गाजमीन खरीदका साथै सबै क्षेत्रबाट स्वीकृति लिई अन्तिम डिपीआरसमेत तयार भइरहेको अध्यक्ष उपाध्यायले बताए ।

यसैगरी तनहुँको ऐतिहासिक नगरी एवं पुरानो सदरमुकाम बन्दीपुरमा करिव रू ६० करोडको लगानीमा आधा दर्जन होटल बन्न थालेका छन् । बढ्दो पर्यटकलाई ध्यानमा राखी यहाँ सुविधा सम्पन्न होटलहरु थपिने क्रम बढेको हो ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले होटलहरु थपिने क्रम तीव्र भइरहेको र आफैँले पनि रू सात करोड ५० लाखको लागतमा होटल बनाइरहेको जानकारी दिनुभयो । यहाँ होटल खोल्न काठमाडौँबाट समेत व्यवसायीहरु आइरहेको बताइएको छ ।

पहाडकी रानी उपनामबाट समेत परिचित बन्दीपुरमा यतिबेला चिनियाँ र स्पेनिस पर्यटकको संख्या बढेको छ । दैनिक करिव १०० विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेको पर्यटन व्यवसायीको भनाइ छ । आन्तरिक पर्यटकको समेत बन्दीपुर रोजाइ बन्दै गएको छ । गर्मी समयमा चिसो हावा, स्वच्छ हराभरा र त्यहाँबाट देखिने दृश्वालोकनका साथै भक्तपुरे शैलीका ऐतिहासिक घरहरुले बन्दीपुरमा पर्यटकको आकर्षण बढ्दै गए को हो । पर्यटकलाई ध्यानमा राखी सूचना केन्द्र स्थापना गरी पथ प्रदर्शकहरु परिचालन र प्याकेज कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...