Friday 14th November 2025

इरानमा युरेनियम प्रशोधन बढाउने कानुन पारित


तीतोपाटी – इरानले युरेनियम प्रशोधन बढाउनुका साथै आफ्नो परमाणु क्षेत्रको निरीक्षण गर्न राष्ट्रसंघलाई रोक्ने भएको छ । इरानको संसद्ले यससम्बन्धी कानुन पारित गरेको हो । सरकारले २० प्रतिशतसम्म युरेनियम सम्वर्द्धन गर्नुपर्ने उक्त कानुनमा व्यवस्था गरिएको छ ।

सन् २०१५ को परमाणु सम्झौतामा यदि अन्तर्राष्ट्रिय प्रतिबन्धलाई दुई महिनाभित्र खुकुलो नपारिए ३.६७ प्रतिशतले युरेनियम सम्वर्धन गर्ने सकिने प्रावधान उल्लेख थियो । संसद्ले पारित गरेको कानुन पालन गर्न अब इरान सरकारले त्यसको करिब ६ गुणा बढी युरेनियम सम्वर्द्धन गर्नुपर्नेछ ।

इरानी राष्ट्रपति हसन रौहानीले उक्त कानुन कार्यान्वयन गर्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । इरानका वरिष्ठ परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या भएपछि त्यहाँको संसद्ले यस्तो कानुन पारित गरेको हो ।

इरानको राजधानी तेहरानस्थित एक सडकमा फख्रिजादेहको रहस्यमय तरिकाले हत्या भएको थियो । उनको हत्यामा इजरायलको हात रहेको इरानको दाबी छ । इजरायलको नेतृत्वमा देशबाट निष्कासित समूहले रिमोटका माध्यमबाट चल्ने हतियार प्रहार गरी फख्रिजादेहको हत्या गरेको इरानको भनाइ छ ।

उक्त घटनाबारे भने इजरायलले हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । इरानको परमाणु कार्यक्रममा फख्रिजादेहले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बताइन्छ ।
-एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...