Sunday 22nd March 2026

कंगोमा नेपाली सेनाका अधिकृत र जवानबीच कुटपिट, छानविन गर्न सेनाद्वारा ‘कोर्ट अफ इन्क्वायरी’ गठन


अनुशासन उल्लंघन गरेको कसुरमा अफ्रिकाको कंगोमा खटिएको नेपाली सेनाका अधिकृत र जवानमाथि छानविन सुरू गरिएको छ। शान्ति स्थापनार्थ खटिएको गणमा सैनिक आचरण र मर्यादाविपरीत कार्य भएको घटनामा सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ सुरू गरेको हो।घटना छानविनको लागि ज्येष्ठ सेनानीको (मेजर) नेतृत्वमा छानविन थालिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।शान्ति स्थापना कार्यमा संलग्न सेनाका सदस्यमा उच्चस्तरको अनुशासन कायम राख्न सेनाले यो छानविन अघि बढाएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

बिहीबार कंगोमा खटिएको उक्त क्याम्पमा सैनिक अधिकृतहरूले जवानलाई कुटपिट गरेका थिए। यो खबर सामाजिक सञ्जालमा आएपछि जंगी अड्डाले प्रारम्भिक रुपमा छानविन थाल्यो। प्रारम्भिक छानविनमा सैनिक जवान र क्याप्टेनहरूबीच झगडा हुँदा कुटपिट भएको बुझिएपछि जंगी अड्डाले छानविन समिति नै गठन गरेको हो।‘वादविवाद र झगडा हुँदा घटनाले कुटपिटको रुप लिएको भन्ने बुझिन आएपछि समिति गठन गरिएको हो,’ पौडेलले भने, ‘यो निकै गम्भीर आरोप भएकाले तरिकावद्ध रुपमा छानविन समिति गठन गरिएको हो।’

कंगोमा सेनाको सात सय जनाको पल्टन शान्ति स्थापनार्थ खटिएको छ। ‘कसको के दोष हो, सैनिक ऐनको कुन दफा र कारबाही आकर्षित हुन्छ, समितिले त्यो निर्क्यौल गरेर कारबाही सिफारिस गर्छ,’ उनले भने, ‘त्यसपछि सैनिक अदालत गठन गरेर आवश्यक कारबाही सुरू हुन्छ।’पल्टनमा सबै ‘क्लोज क्याम्प’मै रहेको हुँदा छानविन एक साताभित्रै सकिने उनले बताए। उक्त पल्टन कंगो खटिएको एक वर्ष पुगेको छ। सो पल्टन असोजमै नेपाल फर्किंदैछ। उक्त पल्टन बदली गर्न पाँचखालमा अर्को टोली तयार पारिँदैछ।

-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...