Wednesday 20th May 2026

कांग्रेसका १२ युवा नेताको आरोप : सभापति देउवाका कारण १४औँ महाधिवेशन निष्पक्ष नहुने भयो (विज्ञप्तिकाे पूर्णपाठसहित)


कांग्रेसका १२ युवा नेताले सभापति शेरबहादुर देउवाको कारण १४औँ महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको आरोप लगाएका छन् । डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशन सुरु भएपछि सभापतिले पार्टीमा आपसी तिक्तता मात्रै बढाएको आराेप लगाएका हुन् । महाधिवेशनको मुखमा विभाग गठन गर्नुलाई उनीहरूले अवैधानिकसमेत भनेका छन् ।

‘अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरू कसरी वैधानिक र उपयुक्त हुन सक्छन्, महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रूपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनुपर्ने होइन र ?’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हामीले बनाएका विभागहरूले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्तिहरु गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो । तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’

सभापतिको यस्ता कदमले निष्पक्ष महाधिवेशन गर्न प्रश्न उठाएको भन्दै उनीहरूले पार्टीलाई सही दिशा दिन आवश्यक पर्दा नेतृत्व लिन तयार रहेको पनि बताएका छन् ।

‘महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रह समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हरप्रश्नको जवाफसहित  राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिनसमेत तयार छौँ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।’

हेर्नुहाेस् विज्ञप्तिकाे पूर्णपाठ :

नेपाली कांग्रेस आफ्नो चौधौँ महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न हुन नसक्ने विशेष परिस्थिति देखिएमा मात्र उपयोग गर्न पाइने एक वर्ष कार्यकाल थप्न सकिने वैधानिक सुविधा प्रयोग गरेर बढाइएको अवधिमा महाधिवेशनको प्रक्रिया प्रारम्भ गरिएको छ। निर्धारण गरिएको समय फागुनभित्र कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्नुपर्ने ऐतिहासिक दायित्व केन्द्रीय समितिको काँधमा छ।

यस्तो समयमा पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टी–नेताबीच, नेता–कार्यकर्ताबीच र पुरानो पुस्ता एवं नयाँ पुस्ताका बीचको सम्बन्धलाई सुमधुर तथा हार्दिक बनाउनुपर्ने दायित्व हामी सबैको हो। यद्यपि यस कार्यमा सभापति अर्थात् नेतृत्वले अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ।

पार्टीभित्र देखिएका विवाद र आपसी तिक्ततालाई समाप्त गरी साथीहरूका बीचमा भावनात्मक एकता कायम गरी महाधिवेशनलाई हौसलापूर्ण महोत्सवको रूपमा निर्धारित समयतालिकाभित्रै सम्पन्न गर्नु हामी सबैको साझा अभिभारा र कर्तव्य हो। तथापि यस कार्यमा पनि सभापति अर्थात् नेतृत्वकै ठोस र सकारात्मक पहलकदमी महत्वपूर्ण हुन्छ।

इतिहासको महत्त्वपूर्ण कालखण्डमा हाम्रो महाधिवेशन सम्पन्न हुँदै छ। संसारभरि अस्वीकृत अलोकतान्त्रिक विचारको बाहक राजनीतिक दल नेकपाको कुशासनमा लोकतन्त्र असुरक्षित छ।

नयाँ पुस्ता राजनीतिसँग विकर्षित र टाढिएको छ। साँच्चै भन्ने हो भने सिंगो पुस्ता तनावग्रस्त भई विरक्तिएर बसेको छ र समकालीन राजनीतिप्रति उसको घृणाभाव झल्किन्छ। यस महाधिवेशनले यी सबै पक्षलाई आश्वस्त तुल्याउँदै उत्पन्न तनाव, विरक्ति र घृणाभावलाई अन्त्य गरी लोकतन्त्रको भविष्यलाई सुरक्षित तुल्याउँदै राजनीतिप्रतिको सम्मान, मर्यादा र प्रतिष्ठालाई पुनर्स्थापित गर्नु आजको प्रमुख आवश्यकता रहेको छ। यसका लागि पनि नेतृत्वकै अग्रसरता आवश्यक देखिन्छ।

यस घडीमा हामीले समयको पदचाप, पार्टीका साथीहरूको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई राम्ररी महसुस गर्न सक्नुपर्दछ।तर, दुर्भाग्यवश हामी, हामीलाई प्राप्त ऐतिहासिक बिरासत र गौरवलाई जोगाउन र थाम्न असमर्थ हुँदै गएका छौँ । हामीप्रतिको नेपाली जनताको भरोसा कमजोर हुँदै गएको छ। पार्टिको गौरवपूर्ण छवि, व्यक्तित्व र कान्ति ह्रासोन्मुख हुँदै छ ।

हाम्रा प्रातः स्मरणीय नेताहरूले रचेको गौरवगाथालाई थप गौरवपूर्ण बनाउने दायित्व विमुख हुन थालेको छ। हामी लोकतन्त्रको विधिसम्मत बाटो छाडेर आफ्नो र गुटको क्षुद्र स्वार्थमा केन्द्रित हुन थालेका छौँ । र, हाम्रो पार्टीको पहिचान र परम्पराको सट्टा अराजकतातर्फ उन्मुख भएका छौँ ।

अहिले आएर सभापतिज्यूबाट पार्टीका विभिन्न विभाग गठनप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ। पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता पनि हो । कांग्रेसको गौरवपूर्ण इतिहासको भारी उहाँकै काँधमा छ। कस्तो कांग्रेस बनाउने, विधि पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी कसरी हस्तान्तरण गर्ने भन्ने दायित्व पनि उहाँकै हो।  सभापति व्यक्ति होइन, संस्था हो ।

उहाँसँग पार्टीलाई गुट–उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन। अस्वस्थ भागबन्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील साथीहरूलाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि छैन। सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन । आफ्ना समकालीन साथीहरू र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत पनि छैन ।

यसबाट गैरलोकतान्त्रिक शक्तिहरूसँग लोकतान्त्रिक मूल्य–मान्यताको विषयमा बहस गर्ने हाम्रो नैतिक धरातल अत्यन्त कमजोर हुन पुगेको छ।

हामी यतिवेला पार्टीको बाह्रौँ महाधिवेशनपश्चात् तत्कालीन सभापति सुशील कोइरालाले पार्टीका विभागहरू गठन गर्दा वर्तमान पार्टी सभापतिज्यूले राख्नुभएको तर्क र असहमतिलाई स्मरण गरिरहेका छौँ । पदाधिकारी, समिति र विभाग गठनमा दुई वर्ष मात्र ढिलो हुँदा वर्तमान सभापतिज्यूकै असहमति र विरोधका कारण तत्कालीन निर्णय फिर्ता लिइयो अर्थात्  कार्यान्वयन गरिएन ।

अनि अहिले कार्यकाल समाप्त भइसकेपछि गरिएका निर्णयहरू कसरी वैधानिक र उपयुक्त हुन सक्छन् ? महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठनको काम तत्काल किन भएन ? हाम्रो सम्पूर्ण ध्यान र शक्ति मर्यादित, निष्पक्ष, विश्वसनीय र भव्य रूपमा महाधिवेशन सम्पन्न गर्नमा लगाउनुपर्ने होइन र ?

हामीले बनाएका विभागहरूले आफ्ना विभागीय काम कहिले गर्ने ? महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि पार्टीका साथीहरूमा आपसी तिक्तता बढाएर पक्ष र विपक्ष खडा गर्नुको उद्देश्य के हो ? यस कार्यबाट महाधिवेशनको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ र पार्टीका सबै तहको  मिति तोकिसकेपश्चात् विभिन्न नियुक्तिहरू गर्नु महाधिवेशन आचारसंहिताको ठाडो उल्लंघन गर्नु हो ।

तसर्थ विभाग गठनका कार्य तत्काल रोकिनुपर्छ र गठन गरिएका औचित्यहीन विभागहरू खारेज गरिनुपर्छ भन्ने हाम्रो माग छ । यसबाट मात्र महाधिवेशनको निष्पक्षताको सुनिश्चितता हुन सक्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

यस विषयमा स्पष्ट हुनका लागि देशभरका साथीहरूलाई आग्रहसमेत गर्दछौँ । साथै अहिले देखिएका सम्पूर्ण चुनौतीको सामना गर्दै समाजले उठाएका शंका–उपशंकाको निवारण गर्दै हरप्रश्नको जवाफसहित  राष्ट्र, लोकतन्त्र र पार्टीलाई सही दिशा प्रदान गर्न आवश्यक पर्दा हामी नेतृत्व लिनसमेत तयार छौँ भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ।

जय नेपाल

डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादव

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...