Thursday 18th September 2025

समाचार संकलन गर्न गएका पत्रकार मेयरबाटै कुटिए


तितोपाटी – जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो। मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’, उनले भने, ‘तर उनका कार्यकर्ताले हामीमाथि संघातिक आक्रमण गरे।

संघातिक आक्रमणबाट एपीवान टेलिभिजनका ब्यूरो प्रमुख विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र घाइते भएका छन्। घाइते सबैलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय हो’, उनले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर कुटपिट गर्न लगाउनु निन्दनीय हो।’कुटपिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।

कसरी भयो कुटपिट ?

संघातिक आक्रमणबाट घाइते भएका पत्रकार अमरकान्त ठाकुरसहित तीनजना पत्रकार बिहान १० बजेदेखि मेयरलाई कुरिरहेका थिए। ठाकुरले भने, ‘मेयरलाई हामीलाई ३ घण्टासम्म कुर्‍यौं, मेयरका कार्यकता भित्रबाहिर निरन्तर गरिरहे, तर हामीलाई बाहिर कुराएर राखियो, १ बजेसम्म त हामी बाहिर बस्यौं’, उनले भने, ‘अझै भित्र जान नदिएपछि भित्र पस्यौं, कार्यकर्ता आउने–जाने गरिरहने, हामीलाई किन टाइम नदिने ? प्रश्न गर्यौँ।’

पत्रकार महासंघका पूर्वअध्यक्ष अशोक रौनियार मेयरकै कार्यकक्षमा थिए। हामी भित्र पुगेपछि मेयरले भने, ‘टाइम लिएर कि त्यतिकै आएको छौं, मसंग टाइम छैन, जाउ भनेर हप्काए।’ मेयरको हप्की खाएपछि अमरजीले बाइट लिनुछ, त्यसैले आएको भन्नुभयो। ‘मेरो क्यामेरा म्यानले पनि बाइट लिनुछ भन्नुभयो, म केही बोलिनँ’, उनले भने।

’मिडियाका नाममा आतंक फैलाएर राखेका छौँ’, मेयरसँगको विवादबारे सुनाउँदै उनले भने, ‘अमरजीले हाम्रो पूर्वअध्यक्ष पनि यहीँ हुनुहुन्छ, हामीले के आतंक फैलाएका छौं ? भनेर सोध्नुभयो। त्यसपछि त मेयरका आसेपासे र नगर प्रहरी आएर धक्कामुक्की सुरु गरिहाले। सुरूमा अमरजीलाई कुटपिट गरे। त्यसपछि मलाई पनि धक्का दिए।’धक्का–मुक्की झण्डै १५ मिनेट चल्यो। कार्यकक्षबाट बाहिर निकालिएपछि हामी त्यहीँ धर्ना दिएर बस्यौं। पत्रकार महासंघका जिल्ला अध्यक्ष अनिल मिश्रलाई पनि फोन गर्यौं। उहाँ पनि आउनुभयो। माहोल झनै तनावपूर्ण बन्यो’, उनले घटनाबारे विस्तार लगाए।‘पाइप, हेल्मेटलगायतले हाने। अमरजीको टाउकोमा चोट लागेको छ। पत्रकार सुमित मिश्रलाई पाइपले हानिएको छ’, प्रत्यक्षदर्शी बनेका पत्रकार विकासले भने।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...