Friday 30th October 2026

१२ वर्षपछि काठमाडौं-जापान सिधा उडान


काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमान ९५ यात्रु र ५६ अतिथिसहित बुधबार राति २:३० बजे जापानको ओसाका उड्दै छ । १२ वर्षपछि निगमले पुन: काठमाडौंबाट जापानको ओसाका सिधा उडान गर्न लागेको हो ।

जहाज अभाव लगायतका व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत्र २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कार्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।

निगमको वाणिज्य विभागका निर्देशक टंकनिधि दाहालका अनुसार, पहिलो उडानमा टिकट खरिद गरेर जाने यात्रुको संख्या साँझसम्म ९५ पुगेको छ । यात्रुबाहेक निगमले आफ्नै खर्चमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ५ जना सांसद, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, निगमको सञ्चालक समिति सदस्य अच्युतराज पहाडी, अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल, २० जना ट्राभल तथा कार्गो सेल्स एजेन्ट, निगमका नायब महाप्रबन्धक गणेश चन्द, वाणिज्य विभागका निर्देशक दाहाल, अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चन, निगमलाई वित्तीय सहयोग गर्ने हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकका तीन जना प्रतिनिधि, सोल्टी होटलका महाप्रबन्धक उपल मजुम्दार नागरिक उड्डयन प्राधिकरणका ४ जना कर्मचारी र ३ जना सञ्चारकर्मीसहित ५६ जनालाई लैजाँदै छ ।

२० जना ट्राभल तथा सेल्स एजेन्टलाई सित्तैमा टिकट दिइएको हो । तर, उनीहरुले जापानमा बसोबास र अन्य खर्च आफैं गर्नुपर्ने छ । यीबाहेक अन्य ३६ जना निगमको निम्तोमा जान लागेकाले उनीहरुको होटल लगायतको खर्च निगमको हुने निर्देशक दाहालले बताए । १२ वर्षपछि वाइडबडी विमानबाट हुन लागेको पहिलो उडानमा पर्यटनमन्त्री योगेश भट्टराई र पर्यटन सचिवसहित थप नामावली पनि थियो । तर, अन्तिम समयमा मन्त्री र सचिवसहित निगमलाई ऋण उपलब्ध गराउने नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषका प्रतिनिधिले नजाने निर्णय गरेको निगम स्रोतले बतायो ।

वाइडबडी १५१ यात्रु बोकेर राती जापानको ओसाका उड्दै

२ सय ७४ सिट क्षमता भएको वाइडबडी विमान बुधबार राति काठमाडौंबाट उडेपछि करिब साढे ७ घण्टापछि ओसाका पुग्ने छ । ओशाका त्यहाँको बिहान साढे ११ बजे अवतरणको समय छ । उक्त विमान बिहीबार साँझ ६ बजे काठमाडौं आइपुग्ने छ । ओसाकाबाट काठमाडौं आउने यात्रुको संख्या ७० सम्म पुग्न भनिएको छ । ‘५० बढीले टिकट नै काटेका छन् हामीले ७० सम्म पुग्ने अनुमान गरेका छौं,’ निर्देशक दाहालले भने । निगमले सातामा तीन दिन मंगलबार बिहीबार र शनिबार उडान तालिका राखेको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बिहीबारको उडान सकिएपछि अन्य उडानको यात्रु बुकिङ्ग वृद्धि हुने बताए । ‘पहिलो उडान भएपछि मात्रै हाम्रो बुकिङ्गको दर वृद्धि हुने देखिएको छ,’ उनले भने, ‘दसैं आसापासमा टिकट बुकिङ्ग अत्यधिक देखिएको छ ।’

निगमले एकतर्फी भाडा ३६ हजार ९ सय ९९ रुपैयाँ कायम गरेको छ । दसैंअघिसम्मका लागि यो प्रवर्द्धनात्मक भाडादर हो । निगमको एक निर्देशकका अनुसार, वाइडबडी विमानमार्फत हुने काठमाडौं–ओसाका उडानमा प्रतिघण्टा कम्तीमा १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्ने छ । यस्मा कम्तीमा ३५ प्रतिशत खर्च इन्धनको रहेको छ । पहिलो उडानलाई पर्यटनमन्त्री भट्टराईले ११ बजे राति विमानस्थलमा बिदाई गर्ने कार्यक्रम छ ।
-ईकान्तिपुरबाट

सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...