Tuesday 30th April 2024

पाल्पामा हावाबाट ६ सय वाट बिजुली निकालियो


थप २५ किलोवाट निकाल्ने तयारी

तितोपाटी – हावाबाट निकालिएको बिजुलीले निस्दी गाउँपालिका ४ मित्यालको रुक्सेभञ्ज्याङ बजारक्षेत्र झिलीमिली बनेको छ ।

गाउँपालिका केन्द्र रहेको यहाँको ४ नम्बर वडा कार्यालयले समेत बत्ती बाल्न, कम्प्युटर, प्रिन्टर चलाउन र इन्टरनेटका लागि हावाबाट निकालिएको बिजुली प्रयोग गर्दै आएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौं अल्टरनेटिभ पावर एन्ड इनर्जी र जनताका लागि ऊर्जा तथा वातावरणीय विकास संस्थाको साझेदारीमा रुक्सेभञ्ज्याङमा बिजुली निकालिएको हो ।

सदरमुकामबाट ७० किलोमिटर टाढाको मित्याल रुक्सेभञ्ज्याङमा झन्डै ४० लाख रुपैयाँ लगानी गरेर १ हजार २ सय किलोवाट बिजुली निकालिएको उक्त गाउँपालिका प्रमुख मुक्तबहादुर सारूले बताए । ६ सय वाट हावाबाट र बाँकी ६ सय वाटका लागि सोलार प्यानल जडान गरिएको उनले बताए । रुक्सेभञ्ज्याङ बजारबाट बढीमा १ सय ५० मिटरको दूरीमा डाँडामा जडान भएको वायु पंखाबाट कम्तीमा ५ वर्ष निरन्तर बिजुली उत्पादन हुन्छ ।

रुक्सेभञ्ज्याङ विद्युतको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छैन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हावाको बेगको परीक्षणपश्चात् बिजुली निकालेको हो । गाउँपालिका कार्यालयमा १ हजार ५ सय वाटको सोलार जडान गरिएको छ । केन्द्रले बिजुली निकाल्नुअघि १५ महिना हावाको बेग परीक्षण गरेको थियो । सोलार शक्ति र हावा ऊर्जा जडान गरी अहिले २ दशमलव ४ डायमिटर विद्युत् उत्पादन गरेको छ । यहाँ सहयोग गरेको कम्पनीले यसअघि भारतका दुई स्थानमा हावाबाट बिजुली उत्पादन गरिसकेको थियो ।

स्थानीय बलिराम सुनारीका अनुसार अहिले बजारवासीले अँध्यारोमा हिँड्न परेको छैन । ‘यहाँ अचम्मको कुरा भएको छ,’ उनले भने, ‘धेरै मान्छे यहाँ आएर सोधपुछ र यसबारे जानकारी लिने गर्छन् ।’ स्थानीयले समेत हावाबाट बिजुली निस्कन्छ भन्ने पत्याएका थिएनन् । अहिले सबै अचम्ममा परेको उनले सुनाए । सुरुमा हावाबाट निकालेको बिजुली स्वास्थ्यचौकी र ४ नं वडा कार्यालयमा प्रयोग गरिएको थियो ।

निस्दी ३ का अध्यक्ष न्यौबहादुर सुनारीका अनुसार अहिले त्यही बिजुलीबाट रुक्सेभञ्ज्याङ बजारका ९ वटा पोलमा सडक बत्तीसमेत बालिएको छ । अहिले स्वास्थ्य चौकीले २ किलोवाट सोलार अनुदान पाएकाले हावाबाट निकालेको बिजुली प्रयोग गरेको छैन । ‘वडा कार्यालय र बजारका पोलमा बत्ती बाल्न प्रयोग गरिएको छ,’ सुनारीले भने, ‘पहिले स्वास्थ्यचौकीलाई पनि दिइएको थियो ।’

कम्प्युटर तथा फोटोकपी जतिबेला पनि चलाउन तथा बत्ती बाल्न पाएपछि कार्यालयको काममा समेत सहजता भएको उनले बताए । हावाबाट बिजुली निस्केपछि वडा अँध्यारोबाट मुक्त भएको छ । हावा र सौर्यको मिश्रित प्रणालीले बाह्रै महिना ब्याट्री चार्ज हुन सक्छ । हावा नलाग्ने समय असार, साउन, भदौ, असोजमा पनि विद्युत् उत्पादन गर्न सोलार जडान भएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले बताए ।

लगानी गर्ने संस्थाले भौतिक संरचना र प्रविधिसमेत स्थानीय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ । ‘हावाबाट ऊर्जा उत्पादन गरेर अँध्यारो गाउँलाई उज्यालो बनाउन सकिने रहेछ भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि लगानी गर्ने योजनासमेत अघि बढेको छ ।’

गाउँपालिकाअगाडिको डाँडामा चल्ने हावाबाट पंखा घुमाइएको छ । जहाँबाट उत्पादित विद्युत् सोलारको ब्याकअपपावरमा थपिन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यहींबाट थप २५ किलोवाट बिजुली हावाबाट निकाल्न सकिन्छ भन्ने अध्ययन गरिसकेको छ ।

थप बिजुली निकालेपछि निस्दी गाउँपालिकाका झ्याल्टुङ, मौलाथर, घुम्सीवरका साथै छिमेकी झिरूवास र गल्धाका गाउँ पनि झिलीमिली हुनेछन् ।

गाउँपालिकाको साझेदारीमा २५ किलोवाट हावाबाट बिजुली उत्पादन गर्ने योजना अघि बढेको बस्यालले बताए । गाउँपालिकाले ४८ लाख लगानी गर्ने निर्णय गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २ करोडभन्दा बढीको लागतमा हावाबाट थप बिजुली निकाल्न लागेको हो । गाउँपालिका प्रमुख सारूका अनुसार सम्झौता हुन बाँकी भए पनि काम हुने आश्वासन दिइएको छ ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

७ बुँदे घोषणापत्र जारीगर्दै अन्तराष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलन युरोपको माल्टामा सम्पन्न भएको छ । अप्रिल २७ देखि सुरुभएको…

एजेन्सी- ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ। हमास नेता याह्या सिनवारका अनुसार…

इलाम- २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार…

प्रतिकृयाहरू
...